गोंगबुको दोहोरी साँझमा झडप, सडकमा हिँड्दै गरेका पैदलयात्रीको हत्या
काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक दोहोरी साँझमा झडप भएको छ । झडप गर्ने समूहले सडकमा हिँड्दै गरेका एक पैदलयात्रीको हत्या गरेको छ ।
हत्या हुनेमा गोरखाको सिरानचोक गाउँपालिका–७ घर भई टोखा नगरपालिका–९ गोंगबु बस्ने २० वर्षीय बबिन गुरुङ छन् । गोंगबुको कुलान्त मार्गस्थित शुभलक्ष्मी गेस्ट हाउसमा बस्दै आएका उनको दोहोरी साँझमा झगडा गरेको समूहले आक्रमण गर्दा मृत्यु भएको हो ।
दोहोरी साँझमा झगडा गरेपछि बाहिर निकालिएको समूहले पैदल हिँड्दै गरेका बबिनको हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । जबकि उनी दोहोरी साँझको झडपमा संलग्न समेत थिएनन् ।
झगडा गर्ने मध्ये हरिशरण पन्तले पैदल हिँड्दै गरेका बबिनलाई धारिलो हतियारले आक्रमण गरेका थिए । आक्रमणबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको थियो ।
त्यसपथि थप उपचारका लागि भन्दै सिनाामंगलस्थित केएमसी अस्पताल लगिएको थियो । उपचारकै क्रमा बुधबार बिहान ५ बजे उनको मृत्यु भएको एसपी भट्टराईले बताए ।
मंगलबार राति करिब साढे १ बजेतिर टोखा नगरपालिका–९ गोंगबुमा रहेको मिरमिरे दोहोरी साँझमा एउटा समूह गएको थियो । उक्त समूहमा धादिङको नेत्रावती डवजोङ घर भई काठमाडौं लोलाङ बस्ने ३० वर्षीय हरिशरण पन्त र सोही ठाउँका ३५ वर्षीय श्रीकृष्ण पन्त गएका थिए ।
अर्को पक्षका डडेल्धुराको नवदुर्गा नगरपालिका–५ घर भई महाराजगञ्ज बस्ने २६ वर्षीय वीरेन्द्र साउद, दार्चुलाको महाकाली नगरपालिका–९ घर भई महाराजगञ्ज नै बस्ने २६ वर्षीय जनक सिंह नगारी, काठमाडौं साँखु घर भएका ३० वर्षीय प्रज्वल भुजेल र लमजुङको राइनास नगरपालिका–८ घर भई महराजगञ्ज बस्ने २९ वर्षीय मनोज सुनार पनि दोहोरी गएका थिए ।
सो क्रममा यी दुई समूहबीच दोहोरी साँझमा झगडा भएको थियो । त्यसपछि दोहोरी सञ्चालक गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ घर भएका ३६ वर्षीय शिव सौगात सुवेदीले दुवै पक्षलाई बाहिर निकालेका थिए ।
त्यसपछि सडकमा आएर पुन: झगडा हुँदा हरि शरणले पैदल हिँड्दै गरेका बबिनमाथि धारिलो हतियार प्रहार गरेको प्रहरीको भनाइ छ ।
अहिले प्रहरीले माथि नाम उल्लेख गरिएका ६ जनासहित दोहोरी सञ्चालक शिव सौगातलाई समेत पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ ।
