जेनजी आन्दोलन : निर्जीवन बीमा कम्पनीद्वारा ५ अर्ब १८ करोड दाबी भुक्तानी
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेका दाबीको ५ अर्ब १८ करोड भुक्तानी भएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कूल ३ हजार ३०३ वटा बीमा दाबीको करिव २३ अर्ब ४५ करोड दाबी परेको थियो ।
प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ७१० वटा बीमा दाबीको दाबी रकम करिव १९ अर्ब २ करोडमध्ये करिव ३ अर्ब ८२ करोड र मोटर बीमातर्फ २ हजार ३११ वटा बीमा दाबीको दाबी रकम करिव ३ अर्ब ४७ करोडमध्ये करिव १ अर्ब २२ करोड भुक्तानी भएको छ ।
यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २२५ वटा बीमा दाबीको करिव ५५ करोड ४७ लाख दाबी रकममध्ये करिव ७ करोड ५० लाख, परिवहन बीमातर्फ १२ वटा बीमा दाबीको करिव १ करोड ६९ लाख दाबी रकममध्ये करिव १ करोड ५५ लाख र अन्य बीमातर्फ ४५ वटा बीमा दाबीको करिव ३८ करोड ४० लाख दाबी रकममध्ये करिव ५ करोड ५० लाख अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।
अग्रिम भुक्तानीसहित करिब ३ अर्ब २ करोड रुपैयाँ पुनर्बीमा दाबी भुक्तानी
जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरुलाई करिब ३ अर्ब २ करोड रुपैयाा अग्रिम भुक्तानीसमेत गरी पुनर्बीमा दाबी भुक्तानी गरेको छ।
नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीबाट परेका कुल २ हजार ८६२ वटा पुनर्बीमा दाबीको रकम करिब १६ अर्ब ६२ करोड रुपैयाँ रहेको अद्यावधिक तथ्यांक रहेको प्राधिकरणले जनाएको छ।
