अपाङ्गता भएकी दीपाको अद्भुत साहस : ह्वीलचियरमै बसेर गरिन् बन्जी जम्प
काभ्रेपलाञ्चोक । नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाले ह्वीलचियरसहित बन्जी जम्प गरेकी छन् ।
आफ्नो जन्मदिनको अवसर पारेर सिन्धुलीको कमलामाई नगरपालिका–४ निवासी दीपा देवकोटाले मंगलबार भोटेकोशी गाउँपालिकाको सिन्धुपाल्चोकको ‘द लास्ट रिसोर्ट’मा रहेको १६० मिटर उचाइको पुलबाट बन्जी जम्प गरेकी हुन् ।
देवकोटाले सफलतापूर्वक बन्जी जम्प गर्दै साहसिक खेलकुदमा अपाङ्गता बाधा होइन यो अवस्था मात्रै हो भन्ने सन्देश दिएकी छन् ।
स्पाइनल बाइफिडा शारीरिक अपाङ्गता भएकी देवकोटाले बन्जी जम्पपछि भनिन, ‘अपाङ्गता कमजोरी होइन । आत्मबल र अवसर पाएमा हामी पनि सबै क्षेत्रमा अघि बढ्न सक्छौं । मेरो यो प्रयासले अपाङ्गता भएका दिदीबहिनी तथा दाजुभाइहरूलाई आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा दिने विश्वास लिएको छु ।’
सक्रिय अपाङ्गता अधिकारकर्मीसमेत रहेकी देवकोटाले अपाङ्गता भएका व्यक्तिहरू पनि समाज, समुदाय र राष्ट्रका हरेक गतिविधिमा समान रूपमा सहभागी हुन सक्षम छन् भन्ने सन्देश यस साहसिक कार्यमार्फत प्रवाह गरेकी छन् ।
‘अपाङ्गता भएको सन्तान जन्माएको भन्दै समाजले मेरा आमाबुबालाई सामाजिक र मानसिक रूपमा विभेद गरिरहँदा पनि म आज यहाँ उभिन सकेकी छु । त्यसैले म मेरा जन्मदिने आमाबुबालाई धन्यवाद दिन चाहन्छु-एक सक्षम र साहसी छोरी जन्माइदिनुभएकोमा’, उनले अघि भनिन्, ‘अपाङ्गताले मेरो जीवनको कुनै पनि अध्याय रोक्ने छैन। यही कारण मेरा लागि मेरा अभिभावक र मेरो जन्मदिन दुवै विशेष छन् ।’
यसअघि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ का दिलीप सापकोटा र सिन्धुली कमलामाई ५ का शिशिर दाहालले सिन्धुपाल्चोकको भोटेकेशी नदीमाथिको झोलुङ्गे पुलबाट ह्वीलचियरसँगै बन्जी जम्प गरेका थिए ।

