चाँदीको मूल्य एक वर्षमै दोब्बर, उपभोक्तामा असर
काठमाडौँ । स्थानीय बजारमा सुनसँगै चाँदीको मूल्य पनि निरन्तर बढ्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य उकालो लागेपछि त्यसको प्रत्यक्ष प्रभाव स्वदेशी बजारमा देखिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार २०८१ मङ्सिरको अन्तिम साता प्रतितोला एक हजार ९२५ रुपैयाँ रहेको चाँदीको मूल्य हाल बढेर तीन हजार ९०५ रुपैयाँ पुगेको छ । यससँगै एक वर्षमै चाँदीको मूल्य झन्डै दोब्बर भएको छ ।
सुनचाँदी व्यवसायी तेजरत्न शाक्यका अनुसार औद्योगिक क्षेत्रमा चाँदीको खपत बढेकाले मूल्य वृद्धि भएको हो । उहाँका अनुसार चाँदी विशेषगरी विद्युतीय सवारीसाधन, मेडिकल उपकरण तथा सोलार प्यानल निर्माणमा प्रयोग हुने भएकाले माग बढ्दै गएको छ ।
पछिल्लो समय लगानीकर्ताले सुनसँगै चाँदीलाई पनि सुरक्षित लगानीको विकल्पका रूपमा सञ्चित गर्न थालेकाले मूल्य थप बढेको व्यवसायीहरूको भनाइ छ । महासङ्घका अनुसार पछिल्लो एक महिनामै चाँदीको मूल्य प्रतितोला ७५० रुपैयाँले बढेको छ । मङ्सिरको पहिलो साता प्रतितोला तीन हजार १५५ रुपैयाँ रहेको चाँदी हाल तीन हजार ९०५ रुपैयाँ पुगेको हो ।
निरन्तर मूल्य वृद्धि हुँदा उपभोक्तामा प्रत्यक्ष असर परेको छ । यद्यपि मूल्य बढिरहे पनि बजारमा चाँदीको माग भने अपेक्षाअनुसार नबढेको व्यवसायीहरू बताउँछन् । छिमेकी मुलुक भारतमा चाँदीको सबैभन्दा बढी खपत हुने गरेको छ भने नेपालमा तिहारको धनतेरसका अवसरमा चाँदीका गहना तथा सामग्रीको माग बढ्ने गर्छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ का चार महिनामा नेपालले करिब २० करोड १४ लाख रुपैयाँ बराबरको एक हजार किलो चाँदी आयात गरेको छ । सोही अवधिमा करिब सात करोड ५९ लाख २४ हजार रुपैयाँ बराबरका चाँदीका सामग्री निर्यात भएका छन् ।
