एलपी ग्यासको पाइपलाइन र हवाई इन्धन डिपो सार्न सहयोग गर्न भारतसँग प्रस्ताव
काठमाडौँ । नेपालले भारतसँग क्रस बोर्डर पाइप लाइनमार्फत खाना पकाउने ग्यास (एलपीजी) आपूर्ति गर्न र काठमाडौँको सिनामंगलस्थित नेपाल आयल निगमको हवाई इन्धन डिपो स्थानान्तरण गर्न सहयोगको प्रस्ताव गरेको छ।
नयाँ दिल्लीमा डिसेम्बर ८ मा सम्पन्न नेपाल–भारत पेट्रोलियम तथा ग्यास संयुक्त कार्य समूह (जोइन्ट वर्किङ ग्रुप)को पाँचौँ बैठकमा यी दुई प्रस्तावहरू प्रस्तुत गरिएको बैठकको नेतृत्व गरेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शिवराम पोखरेलले जानकारी दिए ।
नेपालले अहिले पाइप लाइनमार्फत पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ। सन् २०१९ देखि पाइप लाइनमार्फत डिजेल आयात सुरु भएको थियो । यही वर्षभित्र पेट्रोल र मट्टितेल पनि सोही प्रणालीबाट ल्याउने तयारी गरिएको छ । यो व्यवस्थालाई विस्तार गरी एलपीजी ग्यास पनि समेट्न नेपालले प्रस्ताव गरेको हो ।
नेपालले सिनामंगलस्थित हवाई इन्धन डिपो सार्नका लागि पनि भारतको सहयोग मागेको छ । एक वर्षअघि नै पाइप लाइनमार्फत हवाई इन्धन ल्याउने विषयमा दुई देशबिच सहमति भइसकेको थियो । यो बैठकमा यसबारे थप छलफल भएको जनाइएका छन्।
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको हालको डिपो हटाउने निर्णय गरिसकेको छ। नेपाल आयल निगमले उक्त डिपोलाई गुह्येश्वरीमा सार्ने योजनासहित नयाँ हवाई इन्धन डिपो निर्माणको प्रक्रिया अघि बढाएको छ। यसै कामका लागि नेपालले भारतको सहयोग खोजेको हो।
पाइप लाइनमार्फत हवाई इन्धन आपूर्तिका लागि अमलेखगन्जदेखि लोथरसम्मको नयाँ पाइपलाइन निर्माण सम्पन्न हुनुपर्छ । जसको काम केही महिनाअघि सुरु भइसकेको छ। सरकारले चितवनको लोथरमा हवाई इन्धन भण्डारण गृह निर्माण गर्ने योजना बनाएको छ। गत वर्षको सहमति अनुसार विस्तारित अमलेखगन्ज–लोथर पाइप लाइनमार्फत नै हवाई इन्धन आयात गरिनेछ।
‘बैठकमा मुख्यतया निर्माणाधीन पेट्रोलियम पाइपलाइन आयोजनाहरूलाई तीव्रता दिने र कार्यान्वयनमा सहजीकरण गर्ने सहमति भएको छ,’ पोखरेलले भने, ‘हवाई इन्धन पाइप लाइनबाट ल्याउने विषयमा गत वर्ष नै समझदारी भइसकेकाले यो बैठक प्रक्रियालाई द्रुत गतिमा अघि बढाउन केन्द्रित रह्यो।’
हाल सिलिगुढीदेखि झापाको चारआलीसम्म र बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तारको काम भइरहेको छ। बैठकले निर्माण कार्यलाई गति दिने, कार्यान्वयनका क्रममा आउने अवरोधहरू हल गर्ने र पाइपलाइन परियोजना सञ्चालनमा ल्याउने सहमति गरेको छ ।
नेपाल आयल निगमका अनुसार सिलिगुढी–चारआली पाइपलाइन ५० किलोमिटर लामो हुनेछ, जसमध्ये ३५ किलोमिटर नेपालतर्फ र १५ किलोमिटर भारततर्फ पर्नेछ। त्यस्तै, ६२ किलोमिटर लामो हुने अमलेखगन्ज–लोथर पाइपलाइन तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
