सोमबार ०७ पुस, २०८२

ग्लोबल आइएमईको बैंकको ‘फास्ट लोन अगेन्स्ट सेयर’, ५० लाखसम्म कर्जा उपलब्ध

ग्लोबल आइएमईको बैंकको ‘फास्ट लोन अगेन्स्ट सेयर’, ५० लाखसम्म कर्जा उपलब्ध

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले सेयर धितो कर्जालाई थप सरल र डिजिटल बनाउने उद्देश्यले ‘फास्ट लोन अगेन्स्ट सेयर’ नामक नयाँ प्लेटफर्म सार्वजनिक गरेको छ। यस प्लेटफर्ममार्फत सेयर लगानीकर्ताहरूले अनलाइनबाटै सेयर धितो कर्जाका लागि आवेदन दिन सक्नेछन्।

बैंकका अनुसार ग्राहकहरूले आफूसँग रहेको सेयर धितो राखी न्यूनतम ५ लाख रुपैयाँदेखि अधिकतम ५० लाख रुपैयाँसम्मको कर्जाका लागि आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया पूर्ण रूपमा अनलाइन रहनेछ भने आवश्यक कागजातहरू पनि डिजिटल रूपमा बुझाउन सकिने व्यवस्था गरिएको छ।

अनलाइन आवेदनपछि कर्जाको अवस्थाबारे जानकारी लिन सकिनेछ। कर्जा स्वीकृत भएपछि ग्राहकले एकपटक मात्र आफूले छनोट गरेको शाखा कार्यालयमा उपस्थित भई आवश्यक कागजातमा हस्ताक्षर गरेपछि कर्जा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

यस कर्जाका लागि धितोका रूपमा निवेदक स्वयमको नाममा रहेको सेयर मात्र स्वीकार गरिनेछ। अन्य व्यक्तिको सेयर धितोका रूपमा स्वीकार नगरिने बैंकले स्पष्ट पारेको छ।

‘फास्ट लोन अगेन्स्ट सेयर’ सुविधा हाल बैंकका ३१ वटा शाखा कार्यालयमार्फत उपलब्ध हुनेछ। अनलाइन आवेदन दिँदा ग्राहकले आफूलाई पायक पर्ने शाखा छनोट गर्न सक्नेछन्। साथै, यो सेवा बैंकको डिजिटल युनिभर्स प्लेटफर्ममार्फत पनि प्रयोग गर्न सकिने बैंकले जनाएको छ।