सोमबार ०७ पुस, २०८२

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूलाई लप्सी टिप्ने, बिक्री गर्ने र प्रशोधन गर्ने चटारोले भ्याइनभ्याइ छ। विगतमा वनपाखामा त्यसै झरेर कुहिने लप्सी अचेल प्रशोधन हुन थालेपछि यहाँका बासिन्दाका लागि आम्दानीको मुख्य स्रोत बनेको हो।

विशेषगरी फलेवास नगरपालिका–४ मुडिकुँवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको व्यावसायिक प्रशोधनलाई तीव्रता दिएको छ। विगत डेढ दशकदेखि सञ्चालनमा रहेको यो उद्योगले यसवर्ष झण्डै ६० टन लप्सी प्रशोधन गर्ने तयारी गरेको छ। उद्योगबाट लप्सीको माडा, अचार, क्यान्डी, तितौरा, जाम र धुलो जस्ता विभिन्न परिकार उत्पादन हुँदै आएका छन्। यस वर्ष मात्रै उद्योगले ७० लाख रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखेको छ।

उद्योगका सञ्चालक थानेश्वर भुसालका अनुसार जिल्लामा झण्डै २०० मेट्रिकटन लप्सी उत्पादन हुने भए पनि प्रविधि र जनशक्तिको अभावमा ३० प्रतिशत मात्र प्रशोधन गर्न सकिएको छ। प्रशोधन हुन नसकेको बाँकी लप्सी किसानले दानाकै रूपमा बिक्री गर्ने गरेका छन् भने केही बोटमै खेर जाने गरेको छ। भुसालले उद्योगमार्फत सात जनालाई रोजगारी समेत दिएका छन्। उनले लप्सीका साथै अमला, अदुवा र मकैको सातु प्रशोधन गरेर वार्षिक १० देखि १२ लाख रुपैयाँसम्म बचत गर्दै आएका छन्।

पर्वतको लप्सीको माग नेपालमा मात्र नभई विदेशमा समेत उच्च छ। केही वर्षअघि १० लाख बराबरका लप्सीका परिकार अमेरिका पठाएका भुसाल अहिले भने ढुवानी र निर्यातको भरपर्दो संयन्त्र नहुँदा स्वदेशी बजारमै सीमित हुनुपरेको बताउँछन्। वैदेशिक रोजगारीमा जानेहरूले कोसेलीका रूपमा लैजाने गरे पनि व्यावसायिक रूपमा ठुलो मात्रामा निर्यात हुन सकेको छैन। किसानलाई आकर्षित गर्न उद्योगले निःशुल्क बिरुवा वितरण गर्न थालेपछि अहिले पर्वतका ४० भन्दा बढी वडामा लप्सीको व्यावसायिक खेती विस्तार भएको छ।