सोमबार ०७ पुस, २०८२

सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान तिव्र पार्न अर्थमन्त्री र गभर्नरलाई प्रधानमन्त्रीको निर्देशन

सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान तिव्र पार्न अर्थमन्त्री र गभर्नरलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे सम्बन्धित निकायहरुसँग जानकारी लिएका छिन्।

उनले सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान तिव्र पार्न अर्थमन्त्री र गभर्नरलाई सँगै राखेर  निर्देशन दिएकी हुन् ।

अर्थमन्त्री रामेश्वर खनाल, अर्थ मन्त्रालयकै राजस्व सचिव भुपाल बराल र नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्व पौडेलसमेतको उपस्थितिमा प्रधानमन्त्री कार्कीले विभिन्न अनुसन्धान गर्ने निकायहरुबाट ब्रिफिङ लिएकी थिइन् ।

ती निकायका प्रमुखहरुले सम्पत्ति शुद्धीकरण कसुरमा समयमै अनुसन्धान तथा अभियोजनको प्रक्रियामा लैजाने, अपराधबाट आर्जित सम्पत्ति रोक्का र जफत गर्ने विषयमा भएको प्रगतिबारे जानकारी गराएका छन् ।

त्यस क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौँ उपत्यकाभित्र मात्र १ हजार ६ सय रोपनी जग्गा रोक्का राखेको जानकारी गराएको थियो।

प्रधानमन्त्रीले अर्थ मन्त्रालय र मातहतको निकायले गर्ने नियमन र नेपाल राष्ट्र बैंकले गर्ने नियमन कमजोर हुँदा नै नेपाल खैरो सूचीमा समावेश भएको संकेत गरेकी छन् । 

बैंकले प्रवाह गर्ने ऋण, दिने सहयोग विदेशी लगानीको लेखांकनकै विषय खैरो सूचीसँग जोडिएको छ । त्यसैगरि आय आर्जनको तौरतरिकाहरु समेत जोडिएको छ । यी विषयसँग सम्बन्धी र संका लागेका  साथमा पदमा रहेकाहरुको समेत अनुसन्धान अघि बढाउन प्रधानमन्त्रीले भनेकी छन् ।