इलोन मस्कको सम्पत्ति पाकिस्तान, श्रीलंका र नेपालको कुल जीडीपी भन्दा धेरै
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति इलोन मस्कको कुल सम्पत्ति पाकिस्तान, श्रीलंका र नेपालको कुल जीडीपी (कुल गार्हस्थ्य उत्पादन)भन्दा पनि बढी भएको छ । मात्र चार दिनमै उनको नेटवर्थ १५० अर्ब डलरले बढेर ७५० अर्ब डलर नाघेको छ । जबकि पाकिस्तान, श्रीलंका र नेपालको संयुक्त जीडीपी करिब ५५५ अर्ब डलर मात्र छ ।
७५० अर्ब डलरको नेटवर्थ छुने इलोन मस्क विश्वकै पहिलो व्यक्ति बनेका छन् । यसअघि डिसेम्बर १६ मा मस्कको सम्पत्ति ६०० अर्ब डलर पुगेको थियो । डेलावेयर सुप्रीम कोर्टको हालैको फैसलापछि मस्कको ५६ अर्ब डलरको टेस्ला पे–प्याकेज बढेर १३९ अर्ब डलर पुगेको छ, जसका कारण उनको सम्पत्तिमा तीव्र वृद्धि भएको हो ।
फोर्ब्स बिलियनेयर्स इन्डेक्सअनुसार हाल मस्कको नेटवर्थ ६४९ अर्ब डलर देखाइएको छ, जुन भारतका शीर्ष ४० धनी व्यक्तिको कुल सम्पत्तिको बराबर हो ।
यससँगै मस्कको सम्पत्ति उनका पछिल्ला स्थानमा रहेका विश्वका सबैभन्दा धनी टेक अर्बपतिहरू- ल्यारी पेज (२५२.६ अर्ब डलर), ल्यारी एलिसन (२४२.७ अर्ब डलर) र जेफ बेजोस (२३९.४ अर्ब डलर) को संयुक्त सम्पत्तिभन्दा पनि बढी छ ।
इलोन मस्कको सम्पत्ति बढ्नुका कारण के हुन् ?
इलोन मस्कको सम्पत्ति बढ्नुमा मुख्य तीन कारण मानिएको छ ।
१. टेस्लाको ५६ अर्ब डलरको पे–प्याकेज पुन:स्थापना हुनु
२०१८ मा टेस्लाले मस्कलाई ५६ अर्ब डलर बराबरको स्टक अप्सन पे–प्याकेज दिएको थियो । २०२४ मा तल्लो अदालतले यो प्याकेज रद्द गरेको थियो । तर डिसेम्बर २०२५ मा डेलावेयर सुप्रीम कोर्टले उक्त निर्णय उल्ट्याउँदै प्याकेज पुन:स्थापना गरिदियो । सेयर मूल्य बढेसँगै यो प्याकेजको मूल्य १३९ अर्ब डलर पुगेको छ । यही कारण मस्कको सम्पत्तिमा सबैभन्दा ठूलो उछाल आयो र उनी पहिलो पटक ७०० अर्ब डलर नाघ्न सफल भए ।
२. स्पेस एक्सको भ्यालुएसन ८०० अर्ब डलर पुग्नु
समाचार एजेन्सी रोयटर्सका अनुसार, कम्पनीभित्रै भएको सेयर बिक्रीका आधारमा स्पेस एक्सको कुल मूल्यांकन ८०० अर्ब डलर पुगेको छ । मस्कको स्पेस एक्समा करिब ४२ प्रतिशत हिस्सेदारी छ । यदि स्पेस एक्स अमेरिकी सेयर बजारमा ८०० अर्ब डलरकै मूल्यांकनमा सूचीबद्ध भयो भने, मस्कको हिस्सेदारीको मूल्य मात्रै ३३६ अर्ब डलरभन्दा बढी हुन सक्छ ।
३. टेस्ला सेयर मूल्य वृद्धि र नयाँ १ ट्रिलियन डलरको पे–प्याकेज
टेस्लाको सेयर मूल्यमा भएको वृद्धिसँगै नोभेम्बर २०२५ मा सेयर होल्डरहरूले मस्कको १ ट्रिलियन डलरको नयाँ पे–प्याकेजलाई स्वीकृति दिएका थिए । यसले पनि उनको सम्पत्तिमा ठूलो योगदान दिएको छ । २०२५ मा मात्रै मस्कको सम्पत्तिमा ३४० अर्ब डलरभन्दा बढी थपिएको छ । टेस्लामा उनको १२ प्रतिशत हिस्सेदारी छ, जसले सेयर मूल्य बढ्दा प्रत्यक्ष रूपमा सम्पत्ति बढाउँछ ।
टेस्ला र एक्स–एआईले पनि बढाए मस्कको सम्पत्ति
स्पेसएक्स बाहेक मस्कको इलेक्ट्रिक भेहिकल कम्पनी टेस्लामा पनि करिब १२ प्रतिशत हिस्सेदारी छ । २०२५ मा अहिलेसम्म टेस्लाका सेयर १३ प्रतिशतले बढेका छन् । सोमबार मात्रै टेस्लाका सेयर करिब ४ प्रतिशतले बढे, जब मस्कले कम्पनीले अगाडिको सिटमा सेफ्टी मोनिटर बिना रोबोट्याक्सी परीक्षण गरिरहेको बताएका थिए । हाल मस्कको टेस्लामा रहेको हिस्सेदारीको मूल्य करिब १९७ अर्ब डलर पुगेको छ ।
मस्कको आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप एक्स–एआई पनि २३० अर्ब डलरको मूल्यांकनमा १५ अर्ब डलर नयाँ इक्विटी जुटाउने विषयमा लगानीकर्तासँग अन्तिम चरणको वार्तामा छ ।
१२ वर्षको उमेरमै भिडियो गेम बनाएर बेचेका थिए मस्कले
इलोन मस्क टेस्ला र स्पेसएक्सका सीईओ हुन् । भनिन्छ, उनले १० वर्षको उमेरमै कम्प्युटर प्रोग्रामिङ सिकेका थिए । १२ वर्षको उमेरमा उनले ‘ब्लास्टर’ नामको भिडियो गेम बनाएका थिए । त्यसलाई एक स्थानीय म्यागजिनले ५०० अमेरिकी डलरमा किनेको थियो । यसलाई मस्कको पहिलो व्यावसायिक सफलता मानिन्छ ।
१९९५ मा उनले वेब सफ्टवेयर कम्पनी श्ष्उ२ स्थापना गरे । सन् १९९९ मा कम्प्याकले यो कम्पनी ३०७ मिलियन डलरमा किनेपछि मस्कले आफ्नो ७ प्रतिशत हिस्सेदारीबापत २२ मिलियन डलर पाए । यहीँबाट उनको व्यवसायिक यात्रा तीव्र रूपमा अघि बढ्यो ।
इबेले २००२ मा किनेको थियो मस्कले स्थापना परेको पेपाल
मस्कले १९९९ मा पेपाल स्थापना गरेका थिए । इबेले २००२ मा यो कम्पनी १.५ अर्ब डलरमा खरिद गर्यो । यसबाट मस्कले १८० मिलियन डलर कमाए । त्यसपछि उनले स्पेसएक्स स्थापना गरे । उनले स्पेस एक्समार्फत मंगल ग्रहमा मानव बस्ती बसाएर मानव जातिलाई ‘मल्टी–प्लानेट स्पिसिज’ बनाउने सपना देखिरहेका छन् ।
टेस्ला, स्पेसएक्स र न्यूरालिंक
टेस्लाको स्थापना २००३ मा मार्टिन एबरहार्ड र मार्क टारपेनिङले गरेका थिए । इलोन मस्क प्रारम्भिक लगानीकर्ता थिए र फेब्रुअरी २००४ मा उनले ठूलो लगानी गरे । त्यसपछि उनी टेस्लाका चेयरम्यान र पछि सीईओ बने । टेस्लाको लक्ष्य इलेक्ट्रिक गाडीलाई आम मानिससम्म पुर्याउनु र दिगो ऊर्जालाई प्रवर्द्धन गर्नु हो ।
स्पेसएक्सको स्थापना मस्कले मार्च २००२ मा गरेका थिए । स्पेस लञ्चको लागत घटाउने र मंगल ग्रहमा मानव बस्ती बसाउने उनको मुख्य लक्ष्य हो । कम्पनीले २००८ मा ‘फाल्कन–१’ नामको रकेटको पहिलो सफल प्रक्षेपण गर्यो र २०१२ मा ड्रागन क्याप्सुल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनसँग जोडियो ।
न्यूरालिंकको स्थापना २०१६ मा गरिएको थियो । यसको उद्देश्य मानव मस्तिष्क र कम्प्युटर जोड्ने ब्रेन–मेसिन इन्टरफेस प्रविधि विकास गर्नु हो । यसले न्यूरोलोजिकल रोगको उपचार तथा भविष्यमा मानिस र आर्टिफिसियल इन्टेलिजेन्सबीच अझ गहिरो सहकार्य सम्भव बनाउने लक्ष्य राखेको छ ।
डेलावेयर सुप्रीम कोर्टले २०१८ मा दिइएको इलोन मस्कको ५६ अर्ब डलरको पे–प्याकेज रद्द गर्ने तल्लो अदालतको निर्णय उल्ट्याउँदै मस्कलाई ठूलो जित दिलाएको छ । टेस्लाका सेयर मूल्य बढेसँगै अहिले यो प्याकेजको मूल्य करिब १३९ अर्ब डलर (करिब १२ लाख करोड रुपैयाँ) पुगेको छ ।
