आइतबार ०६ पुस, २०८२

बोरामा प्याक भएको शव इनारबाट उत्खनन, हत्यामा ज्वाईं नै संलग्न !

बोरामा प्याक भएको शव इनारबाट उत्खनन, हत्यामा ज्वाईं नै संलग्न !

काठमाडौँ । ललितपुरमा आफूले चलाइरहेको फार्म हाउस बेचेर सिन्धुलीको गोलन्जोरका केशवराज हायु बुल्गेरिया उड्ने तयारीमा थिए ।

गोलञ्जोर गाउँपालिका–३ घर भएका हायुले फार्म हाउस रोल्पाको दीपक थापा मगरलाई बेचेका हुन् । तर बुल्गेरियाको तयारी गर्दै गरेका हायु पुस २ मा ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शेरेफाँटमा मृत भेटिए । उनको शव जहाँ भेटियो त्यहीँ फार्म उनले बिक्री गरेका थिए । शेरेफाँटस्थित फार्म हाउसको इनारमा बोरामा प्याक गरेर फालेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी होबिन्द्र बोगटीले रातोपाटीलाई बतए ।

मंसिर २४ देखी उनी परिवारको सम्पर्कमा थिएनन् । शेरेफाँटका स्थानियले इनारमा केही तैरिएको जस्तो देखेर प्रहरीलाई खबर गरे, उत्खनन गरेर हेर्दा केशवराजको शव रहेछ । उनको हत्या गरेर इनारमा लगेर फालेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । इनारको बिर्को खुला थियो । तैरिरहेको बोरा निकाल्दा कम्मरभन्दा माथि कपडा नभएको अवस्थामा उनको शव भेटियो ।

शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ । उनको टाउकोमा गह्रौँ बस्तुले प्रहार गरेर हत्या गरिएको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको ललितपुरका एसएसपी बोगटी बताउँछन् । 

हत्यामा संलग्न आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–४ घर भएका २१ वर्षीय देवराज ढुंगेल छन्, मृतकका ज्वाईं हुन देवराज । उनीसहित कम्तीमा ३ जना मिलेर हत्या गरेको आशंका गरिएको अनुसन्धानमा संलग्न एक अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्, ‘समूहले हत्या गरेर मोटरसाइकलमा ल्याएर तरकारी फार्मको इनारमा फालेको हाम्रो अनुसन्धान निष्कर्ष छ ।’

ललितपुरस्थित खोला किनारामा मदिरा सेवन गरेर आरोपीहरूले उनको हत्या गर्ने योजना बनाएको खुलेको छ । केशवराजको शव खुट्टा र मुख टेपले बाँधेको अवस्थामा भेटिएको थियो । अनुसन्धान अधिकृतहरूले हत्यामा प्रयोग भएको ह्यामर, टेप र चप्पल बरामद गरेका छन् । घटनास्थलमा भेटिएको चप्पल देवराजको भएको पुष्टि भएको छ ।

हत्याबारे उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी बेद पौडेल र जिल्ला प्रहरी परिसर ललितपुरका अनुसन्धान अधिकृतहरूले अनुसन्धान गरिरहेका छन् ।

हत्यामा संलग्न दुई जना फरार छन् । संलग्नहरू सबैको पहिचान भएकाले व्यापक खोजी भइरहेको एसएसपी बोगटी बताउँछन् ।