आइतबार ०६ पुस, २०८२

एलन मस्कको नयाँ कीर्तिमान : इतिहासमै पहिलोपटक ७०० अर्ब डलर नाघ्यो

एलन मस्कको नयाँ कीर्तिमान : इतिहासमै पहिलोपटक ७०० अर्ब डलर नाघ्यो

काठमाडौं। विश्वका धनी व्यक्तिहरूको सूचीमा एलन मस्कले फेरि नयाँ कीर्तिमान स्थापना गरेका छन्। इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका सीईओ मस्कको सम्पत्ति अहिले ७०० अर्ब अमेरिकी डलर नाघेको छ।

रोयटर्सका अनुसार, मस्कको सम्पत्तिमा यो अभूतपूर्व वृद्धि सन् २०१८ मा दिइएको स्टक अप्सन प्याकेज अदालतले पुनः बहाल गरेपछि भएको हो। गत हप्ता डेलावेयर सुप्रीम कोर्टले मस्कको स्टक अप्सन पुनः वैध ठहर गर्दै, अघिल्लो निर्णय उल्ट्याएको थियो, जसमा उक्त प्याकेजलाई ‘अविश्वसनीय’ भनेर रद्द गरिएको थियो।

यस निर्णयपछि मस्कको नेटवर्थ करिब ७४९ अर्ब डलर पुगेको अनुमान छ। विशेषगरी उक्त स्टक अप्सनको मूल्य अहिले करिब १३९ अर्ब डलर पुगेको छ, जुन सम्झौता स्वीकृत हुँदा रहेको ५६ अर्ब डलरको तुलनामा झण्डै तीन गुणा बढी हो।

गत नोभेम्बरमा टेस्लाका शेयरधारकहरूले मस्कका लागि १ ट्रिलियन डलर बराबरको नयाँ पारिश्रमिक योजना स्वीकृत गरेका थिए। यो कुनै पनि कर्पोरेट कार्यकारीलाई अहिलेसम्म दिइएको सबैभन्दा ठूलो पारिश्रमिक प्याकेज हो। यसले मस्कको इलेक्ट्रिक कार, कृत्रिम बुद्धिमत्ता (AI) र रोबोटिक्समा लगानीकर्ताको विश्वास पनि देखाउँछ।

एलन मस्कका परियोजनाहरू टेस्लामा मात्र सीमित छैनन्। उनी स्पेसएक्सका संस्थापक तथा सीईओ हुन्, जुन पुनः प्रयोग गर्न मिल्ने रकेट र स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवाका लागि परिचित छ। मस्क न्यूरालिंक, बोरिङ कम्पनी र एक्स कर्प (पूर्व ट्वीटर) जस्ता परियोजनाहरूमा पनि सक्रिय छन्। साथै, उनी एक्सएआई नामक एआई अनुसन्धान कम्पनीको नेतृत्व पनि गर्दै आएका छन्।

फोर्ब्सको सूचीअनुसार, मस्कको सम्पत्ति उनका सबैभन्दा नजिकका प्रतिस्पर्धी ल्यारी पेजभन्दा करिब ५०० अर्ब डलरले बढी छ। यसै हप्ताको सुरुवातमा मात्र मस्कको नेटवर्थ पहिलो पटक ६०० अर्ब डलर नाघेको थियो।

विशेषतः स्पेसएक्सको आगामी आईपीओले भविष्यमा मस्कको सम्पत्ति अझ बढ्न सक्ने संकेत दिएका छन्।