जागिर छोडेर मानवीय सेवा : सडकका बेवारिसे जीवनको सहारा बनेकी कल्पना
धनगढी । नौ वर्षअघि सुनिश्चित जागिर र सरकारी अधिकृत बन्ने सपनालाई त्यागेर धनगढीकी कल्पना भट्टले मानव सेवाको कठिन तर उज्यालो बाटो रोजिन्। आज उनी र उनको टोली सडकमा अलपत्र परेका बेसहारा महिला तथा बालबालिकाको भविष्य बनेका छन्।
तिहार मनाउन काठमाडौँबाट धनगढी फर्किँदा कल्पनाले व्यस्त सडकमा एक मानसिक सन्तुलन गुमाएकी गर्भवती महिला देखिन्। झुत्रो लुगा, जटा परेको कपाल र बेवारिसे अवस्थाले कल्पनाको मन गहिरोसँग छोयो। सहयोग गर्न चाहँदा चाहँदै पनि उपाय नपाउँदा उनी निराश भइन्। तिहारपछि काठमाडौँ फर्किए पनि त्यो दृश्यले उनलाई सताइरह्यो।
‘मैले पढाइ र जागिर त गरेँ, तर आफ्नै सहरका दिदीबहिनी सडकमा पीडा भोगिरहेका छन् भने मेरो उपलब्धिको अर्थ के ?’ यही प्रश्नले उनलाई सबै सुविधा छोडेर धनगढी फर्किन बाध्य बनायो।
धनगढी आएपछि उनले एक्लै होइन, ११ जना महिलाको टोली बनाएर अभियान सुरु गरिन्। सबैले जनही १० हजार रुपैयाँ जम्मा गरेर कोष खडा गरे र आठ वर्षअघि ‘दृष्टि फाउन्डेसन’ औपचारिक रूपमा दर्ता भयो।
सुरुमा उद्धार गरिएका महिलालाई राख्ने ठाउँसमेत थिएन। स्थानीय हरि श्रीपालीले आफ्नो घर निःशुल्क उपलब्ध गराएपछि पहिलो महिनामै आठ जना महिलाको उद्धार सम्भव भयो। तर संख्या बढ्दै जाँदा ठाउँ अभाव भयो। समाजको संकुचित सोचका कारण ‘बहुला राख्न दिँदैनौँ’ भन्दै धेरै घरबेटीले भाडा दिन अस्वीकार गरे। लामो प्रयासपछि मात्र अर्को घर भेटियो र संस्थाको सेवा विस्तार भयो।
स्थापनादेखि हालसम्म दृष्टि फाउन्डेसनले ६११ जना बेसहारा महिला तथा बालबालिकाको उद्धार गरिसकेको छ। तीमध्ये ५२५ जना पूर्ण रूपमा निको भएर आफ्नै परिवारमा फर्किसकेका छन्।
उद्धार गरिएकामध्ये दाङकी गौधुली पनि एक हुन्। मानसिक सन्तुलन गुमेपछि श्रीमान्ले उपचारको बहानामा ट्रकमा छाडिदिएकी उनलाई धनगढीको सडकबाट उद्धार गरिएको थियो। करिब एक वर्षको उपचार, औषधि र माया पाएपछि उनी निको भइन्। अहिले माइतीघरमा बसेर मकै बेच्दै आत्मनिर्भर जीवन बिताइरहेकी छन्। ‘दिदीले मलाई नयाँ जीवन दिनुभयो,’ गौधुली भन्छिन्।
हाल फाउन्डेसनमा ४८ महिला र २० बालबालिका गरी ६८ जना आश्रित छन्। कतिपय बालबालिका आमासँगै सडकबाट आएका हुन् भने केही आश्रममै जन्मिएका छन्। पाँच जना बालबालिका सरकारी विद्यालयमा अध्ययनरत छन् भने अन्य निजी विद्यालयको सहयोगमा पढिरहेका छन्। बालबालिकाका लागि छुट्टै बालमैत्री भवन आवश्यक रहेको कल्पनाको भनाइ छ।
संस्थामा आश्रित रहँदा हालसम्म १८ जनाको मृत्यु भएको छ। अन्तिम संस्कार गर्ने कोही नहुँदा कल्पना र उनको टोलीले नै दागबत्ती दिने गरेका छन्। अहिलेसम्म उनले १५ जनाको चितामा दागबत्ती दिइसकेकी छन्। ‘संस्कारभन्दा मानवता ठूलो हो,’ कल्पना भन्छिन्, ‘यी बेसहाराका लागि छोरी बनेर दागबत्ती दिँदा मेरो आत्माले शान्ति पाउँछ।’
संस्थाको व्यवस्थापनमा चन्द्रा तिरुवा जस्ता समर्पित स्वयंसेवकहरूको ठूलो भूमिका छ। उनीसहित आठ जना स्वयंसेवक महिला तथा बालबालिकाको पालनपोषणमा जुटिरहेका छन्। केही कलेज जाने स्वयंसेवक छात्राहरूको पढाइ र पकेट खर्चसमेत फाउन्डेसनले व्यहोर्दै आएको छ।
सुरुमा व्यक्तिगत लगानीबाट चलेको यो अभियान अहिले समुदायको सहयोगमा टिकिरहेको छ। स्थानीय दाताहरूले जन्मदिन, वैवाहिक वर्षगाँठ वा पुण्यतिथिमा सहयोग गर्दै आएका छन्। धनगढी उपमहानगरपालिकाले वार्षिक पाँच लाख रुपैयाँ सहयोग गर्दै आएको छ। महायज्ञमार्फत स्थापना गरिएको अक्षयकोषको ब्याजले पनि दैनिक खर्चमा राहत दिएको छ।
यद्यपि चुनौती अझै धेरै छन्। मानसिक रोगी महिलाको सुरक्षा, नियमित मनोपरामर्शदाता र चिकित्सकको अभाव प्रमुख समस्या हुन्। धनगढी उपमहानगरपालिकाकी कार्यपालिका सदस्य निसा आउँजी भन्छिन्, ‘राज्यले गर्नुपर्ने काम एउटा संस्थाले गरिरहेको छ, यो अत्यन्तै सराहनीय छ।’
परिवार, समुदाय र विभिन्न संघसंस्थाबाट सम्मानित हुँदै आएकी कल्पना भट्ट आज सडकका बेसहाराका लागि आशाको दीप बनेकी छन्।

