आइतबार ०६ पुस, २०८२

राष्ट्रिय बाली प्रजनन्, अनुवंश र बीउ विज्ञान सम्मेलन हुने

राष्ट्रिय बाली प्रजनन्, अनुवंश र बीउ विज्ञान सम्मेलन हुने

काठमाडौं । नेपालमा पहिलो पटक राष्ट्रिय बाली प्रजनन्, अनुवंश र बीउ विज्ञान सम्मेलन आयोजना हुने भएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान र बाली प्रजनन् तथा अनुवंश समाज नेपाल (पिबाग्सन) को अयोजना तथा जिन बैंक, लिबर्ड, अक्सफाम लगायतका संस्थाको सहआयोजनामा उक्त सम्मेलन हुन लागेको हो ।

सम्मेलन ६ माघदेखि ३ दिनसम्म ललितपुरमा सञ्चालन हुने छ । नेपालमा विभिन्न बाली प्रजनन् र आनुवंशिक अनुसन्धानको ‌इतिहासदेखि वर्तमानसम्मको समीक्षा गरी बाली प्रजनन् र बीउको क्षेत्रमा देखा परेका समस्याको समाधान र भावी कार्यदिशाबारे सम्मेलनबाट निष्कर्ष निकालिने आयोजक कमिटीका तर्फबाट राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले जानकारी दिए ।

यसैबीच आयोजक कमिटीले सम्मेलनको विस्तृत कार्यतालिका तयार गरी कार्यपत्रको आह्वान समेत गरिसकेको छ ।

सूचना केन्द्रका प्रमुख उपाध्यायका अनुसार ३ दिनसम्म ललितपुरमा सञ्चालन हुने उक्त सम्मेलनमा देशभरीबाट बाली प्रजनन्, अनुवंश र बीउ विज्ञानका विविध क्षेत्रमा अनुसन्धान, शिक्षण र विस्तारमा संलग्न वैज्ञानिक, प्राविधिक, प्राध्यापक, विद्यार्थी र किसान गरी १५० जनाको सहभागिता रहने छ ।

सम्मेलनमा विभिन्न विषयका ६ वटा समूहमा ५० वटा कार्यपत्र प्रस्तुत हुने बताइएको छ ।