आइतबार ०६ पुस, २०८२

भ्रष्टाचार नियन्त्रणको औषधि योग र ध्यान : मन्त्री पुन

भ्रष्टाचार नियन्त्रणको औषधि योग र ध्यान : मन्त्री पुन

काठमाडौं । अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले भ्रष्टाचार नियन्त्रणका लागि योग र ध्यानलाई जोड दिनुपर्ने बताएका छन् ।

विश्व ध्यान दिवसको अवसरमा आज काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले योग र ध्यानमार्फत् मनलाई शान्त र शुद्ध पार्नुपर्ने बताए ।

‘जति पनि भ्रष्टचारीहरु छन् भन्छौं हामी उनीहरुको मन भ्रष्ट छ, शुद्ध छैन । उनीहरुमा घमण्ड छ, लोभ लालसा छ । यस्तो किसिमको लोभ, लालसा, घमण्डीपना, भ्रष्टाचारीहरु जुन छ, यसलाई हटाउनको लागि औषधि खुवाएर नहुने देखियो’, मन्त्री पुनले भने, ‘त्यसको औषधि बनेको पनि छैन । बन्दा पनि बन्ने छैन । तर त्यसको औषधिको रुपमा योग, ध्यानलाई हामीले हाम्रो समाज समाजमा फैलाउन सक्नुपर्छ । टोलटोलमा फैलाउनसके भ्रष्टाचार हट्ने ठूलो सम्भावना देखेको छु । भ्रष्टाचारीहरुको मनलाई पनि घमण्डीहरुको मन, लोभीपापीहरुको मनलाई पनि शुद्ध गर्ने एउटा माध्यमको रुमपा देखेको छु ।’

योग ध्यानलाई गाउँगाउँमा पुर्‍याउनको लागि सबैले प्रयास गर्न उनले आह्वान गरे । योग, ध्यानलाई विद्यालयको अतिरिक्त क्रियाकलापमा समावेश गर्नुपर्ने पनि उनले बताए ।

‘योग विषय भनेको पढाउने कुरा होइन, गराउने कुरा हो,’ मन्त्री पुनले भने, ‘विद्यालयमा शुक्रबारको दिनलाई पढाउने होइन, अतिरिक्त क्रियाकलापअन्तर्गत अघि बढाउने कुरा उठाएको छु । अतिरिक्त क्रियाकलापको माध्यमबाट हरेक विद्यालयमा पुर्‍याउने काममा लागेको छु । अतिरिक्त क्रियाकलापमध्ये योगलाई राख्न पनि निर्देशन दिइसकेको छु ।’