एमालेको १९ जना पदाधिकारीमध्ये एक मात्र महिला, पद्माले ठाउँ पाउँदा विन्दा र रचना पराजित
काठमाडौं- नेकपा एमालेको १९ जना पदाधिकारीमध्ये एकजना महिला उम्मेदवार मात्र विजयी भएकी छन् । एमालेबाट उपाध्यक्षमा विन्दा पाण्डे, सचिवमा रचना खड्का र पद्मा अर्यालले उम्मेदवारी दिएका थिए ।
ईश्वर पोखरेल प्यानलमा रहेका पाण्डे र खड्का पराजित हुँदा अर्याल भने सचिवमा निर्वाचित भएकी छन् । अर्यालले १५३० मत ल्याएर सचिव पदमा निर्वाचित हुँदा खड्काले ८७७ मत ल्याएकी छन् ।
पाँच जना उपाध्यक्षमा पाण्डेको मात्रै महिला उम्मेदवारी परेको थियो । पाण्डेको मत भने ९२१ छ । उम्मेदवारी दिएका अन्य १० जना पुरुषहरूमा उपाध्यक्षमा पाँच जना निर्वाचित भएका छन् जसमा ईश्वर पोखरेल प्यानलबाट गोकर्ण विष्टले १३६८ मत ल्याएर निर्वाचित भए भने अन्य चार उम्मेदवार ओली प्यानलकै निर्वाचित भए ।
एमालेको दशौँ महाधिवेशनमा भने उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिवमा पदमा नै विजयी भएकी थिइन् । यो पटक भने एमाले पदाधिकारीमा एक जना महिला मात्रै समेटिएकी छन् ।
