चाँदीको मूल्यले तोड्यो ४५ वर्ष पुरानो रेकर्ड, किन बन्यो तेलभन्दा महँगो ?
काठमाडौँ । चाँदीको मूल्यमा आएको तीव्र उछालले विश्वव्यापी कमोडिटी बजारको शक्ति सन्तुलन नै फेरिएको छ । पहिलोपटक चाँदीको मूल्य प्रतिकिलो ३.२ लाख रुपैयाँ नाघ्दा अन्तर्राष्ट्रिय बजारमा करिब ६५ डलर प्रतिऔंस पुगेको छ । यससँगै चाँदी कच्चा तेलभन्दा महँगो बन्न पुगेको छ, जुन सन् १९८० पछिको पहिलो घटना हो ।
अन्तर्राष्ट्रिय बजारमा डब्ल्यूटीआई क्रूड ५५.९३ डलर र ब्रेन्ट क्रूड ५९.७१ डलर प्रतिब्यारेलमा कारोबार भइरहँदा चाँदीले मूल्यको हिसाबले तेललाई उछिनेको छ । सन् २०२२ को मध्यतिर डब्ल्यूटीआई क्रूडको मूल्य चाँदीभन्दा करिब ५.५ गुणा बढी थियो । तर त्यसयता चाँदीको मूल्यमा २०६ प्रतिशतको उछाल आएको छ भने कच्चा तेलको मूल्य ४४ प्रतिशतले घटेको छ ।
बिजनेस एङ्गलबाट हेर्दा यो वर्ष चाँदीका लागि ऐतिहासिक बन्ने देखिएको छ । सन् १९७९ पछिको सबैभन्दा राम्रो वर्ष मानिएको यस अवधिमा मात्रै चाँदीको मूल्य ११५ प्रतिशतले बढेको छ । यसको कुल मूल्याङ्कन प्रविधि कम्पनी माइक्रोसफ्टभन्दा माथि पुग्दै चाँदी विश्वको पाँचौँ सबैभन्दा मूल्यवान् एसेटको सूचीमा उक्लिएको छ । विपरीत रूपमा, डब्ल्यूटीआई क्रूडका लागि यो वर्ष महामारीपछिकै सबैभन्दा कमजोर वर्ष बन्ने संकेत देखिएको छ ।
स्वदेशी बजारमा पनि यसको प्रत्यक्ष असर देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदीको भाउ प्रतितोला ४ हजार ५५ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो । मूल्य वृद्धिले आभूषण व्यवसाय, औद्योगिक प्रयोगकर्ता र ट्रेडरहरूलाई रणनीति पुनरावलोकन गर्न बाध्य बनाएको छ ।
मूल्य किन उकालो लाग्यो ?
बजार विश्लेषकहरूका अनुसार चाँदीको मूल्य वृद्धिको मुख्य चालक औद्योगिक माग हो । ऊर्जा रूपान्तरण, सोलार प्यानल, इलेक्ट्रिक गाडी, सेमिकन्डक्टर र आधुनिक इलेक्ट्रोनिक्स उद्योगमा चाँदीको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ । विशेषगरी हरित ऊर्जातर्फ विश्वको ध्यान केन्द्रित भएसँगै सोलार उद्योगमा चाँदीको खपत ऐतिहासिक उच्च विन्दुमा पुगेको छ ।
अर्कोतर्फ आपूर्तिमा भने संरचनागत दबाब देखिएको छ । नयाँ चाँदी खानी थपिन नसक्नु, उत्पादन लागत बढ्नु र चाँदी प्रायः तामा, सिसा वा जस्ताजस्ता अन्य धातुसँगै सह–उत्पादनका रूपमा मात्र निकालिनुका कारण आपूर्ति सीमित बनेको छ । यही असन्तुलनले बजारमा मूल्य बढाउने दबाब सिर्जना गरेको छ ।
लगानी एङ्गलबाट हेर्दा पनि चाँदीप्रतिको आकर्षण तीव्र छ । विश्व अर्थतन्त्रमा अनिश्चितता, भूराजनीतिक तनाव र महँगीको जोखिम बढ्दै जाँदा लगानीकर्ताहरू सुरक्षित तथा रणनीतिक एसेटतर्फ मोडिएका छन् । सुनसँगै चाँदीलाई पनि सुरक्षित लगानीको विकल्पका रूपमा हेर्न थालिँदा यसको माग अझ बलियो बनेको छ ।
यस्तै, अमेरिकी डलर कमजोर हुनु, भविष्यमा ब्याजदर घट्न सक्ने अपेक्षा तथा चाँदीमा आधारित ईटीएफ र फ्युचर्स बजारमा बढ्दो कारोबारले मूल्यमा थप गति दिएको विश्लेषकहरूको भनाइ छ । लामो समयसम्म सुनको तुलनामा ‘अन्डरभ्यालु’ मानिएको चाँदी अहिले पुनः मूल्याङ्कन (re-rating) को चरणमा पुगेको उनीहरूको निष्कर्ष छ ।
बजार जानकारहरूका अनुसार औद्योगिक माग, सीमित आपूर्ति र संस्थागत लगानीकर्ताको बढ्दो सहभागिताका कारण चाँदीको मूल्य छोटो अवधिमा मात्रै होइन, मध्यम अवधिसम्म पनि उच्च स्तरमै रहन सक्ने सम्भावना देखिएको छ । यसले कमोडिटी बजारमा नयाँ बिजनेस ट्रेन्ड र लगानी रणनीतिलाई जन्म दिँदै लगेको संकेत गर्छ ।
