दैलेखको प्राकृतिक ग्यास : व्यावसायिक उत्पादन कहिलेदेखि ?
काठमाडौँ । दैलेखमा ठूलो परिमाणमा प्राकृतिक ग्यास भेटिएको पुष्टि भएपछि ऊर्जा, मल, विद्युत् र यातायात क्षेत्रसँग जोडिएको अर्बौँ रुपैयाँको बिजनेस सम्भावना देखिएको छ । तर सरकार परिवर्तनसँगै नीति र निर्णय सुस्त हुँदा यो सम्भावना व्यावहारिक बजारमा रूपान्तरण हुन सकेको छैन ।
चिनियाँ प्राविधिक टोलीले तयार पारेको अन्तिम प्रतिवेदन खानी तथा भूगर्भ विभागमा एक महिनादेखि थन्किएको छ । प्रतिवेदनको समीक्षा, उत्पादन मोडेल र व्यवसायिक लाइसेन्सबारे सरकारी निर्णय नआउँदा निजी क्षेत्र र लगानीकर्ताहरू स्पष्ट बिजनेस मोडेलको पर्खाइमा छन् ।
दैलेखको जलजले क्षेत्रमा गरिएको ड्रिलिङबाट मात्रै करिब १ खर्ब १२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको प्रारम्भिक तथ्य सार्वजनिक भइसकेको छ । चार सम्भावित क्षेत्रमा अनुमान गरिएको कुल ४ खर्ब ३० अर्ब घनमिटर ग्यासले नेपाललाई करिब ५० वर्षसम्म ऊर्जा माग धान्न सक्ने देखिन्छ । विज्ञहरूका अनुसार यो परिमाण नेपालकै इतिहासमा सबैभन्दा ठूलो घरेलु ऊर्जा स्रोत हो ।
बिजनेस दृष्टिले हेर्दा दैलेखको ग्यासले तीन प्रमुख बजार खोल्न सक्छ—मल उद्योग, विद्युत् उत्पादन र यातायात इन्धन । नेपाल आयल निगमको अध्ययनअनुसार ग्यास प्रयोग गरी वार्षिक ७ लाख मेट्रिक टन युरिया मल उत्पादन गर्न सकिन्छ, जसले नेपालले प्रत्येक वर्ष आयात गर्दै आएको मलको ठूलो हिस्सा स्वदेशमै उत्पादन गर्ने बाटो खोल्छ । यसले आयात खर्च घटाउने मात्र होइन, कृषि उत्पादकत्व बढाएर ग्रामीण अर्थतन्त्रमा प्रत्यक्ष असर पार्नेछ ।
त्यस्तै, २०० मेगावाट क्षमताको ग्यास–आधारित विद्युत् आयोजना सञ्चालन भए विद्युत् व्यापारमा नयाँ मोडल विकास हुन सक्छ । सुक्खा याममा विद्युत् अभावको समस्या समाधान गर्दै निजी ऊर्जा कम्पनीहरूका लागि स्थिर आम्दानीको स्रोत बन्ने सम्भावना छ । यातायात क्षेत्रमा सीएनजी विस्तार भए पेट्रोल र डिजेल आयात घट्नेछ भने ग्यास वितरण, स्टेशन निर्माण र सवारी रूपान्तरणजस्ता नयाँ व्यवसाय फस्टाउनेछन् ।
तर यी सबै सम्भावनाबीच सरकारबाट स्पष्ट बिजनेस फ्रेमवर्क आएको छैन । ग्यास उत्खनन राज्य स्वामित्वमा गर्ने, पीपीपी मोडल अपनाउने वा निजी क्षेत्रलाई प्रतिस्पर्धाबाट ल्याउने भन्ने निर्णय नहुँदा बैंक, बीमा र लगानीकर्ता जोखिम लिन तयार देखिँदैनन् । एक उद्योगपति भन्छन्, “स्रोत छ, बजार छ, तर नियम र नीतिको अनिश्चितताले बिजनेस सुरु गर्न सकिएको छैन ।”
बिजनेस विश्लेषकहरूका अनुसार दैलेखको ग्यास उत्पादनमा गए एलपी ग्यास, पेट्रोलियम पदार्थ र रासायनिक मल आयातमा वार्षिक अर्बौँ रुपैयाँको आयात प्रतिस्थापन सम्भव छ । यसले व्यापार घाटा घटाउने, रोजगारी सिर्जना गर्ने र स्थानीय अर्थतन्त्र चलायमान बनाउनेछ ।
तर निर्णय ढिलो हुँदै गए दैलेखको ग्यास ‘सम्भावनाको कथा’ मै सीमित हुने जोखिम छ । स्पष्ट नीति, लगानी–मैत्री नियम र समयबद्ध कार्ययोजनाबिना यो राष्ट्रिय स्रोतलाई ठोस बिजनेसमा रूपान्तरण गर्न कठिन हुँदै गएको संकेत देखिन थालेको छ ।
