जुम्लाबाट ४१ करोड बढीको स्याउ बिक्री, अघिल्लो वर्षभन्दा २९ करोड कम
जुम्ला । जुम्लामा यस वर्ष ४१ करोड बढीको च्याउ निर्यात भएको छ । कृषि विकास कार्यालयका अनुसार मंसिर तेस्रो सातासम्म ४१ करोड २९ लाख ८९ हजार २७० रुपैयाँको स्याउ निर्यात भएको हो ।
कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार मंसिर २२ गते तयार पारिएको स्याउ निर्यातको प्रतिवेदन अनुसार चालु आर्थिक वर्षमा पाँच हजार ५९१ मेट्रिकटन स्याउ निर्यात भएको छ ।
यसपटक जुम्लाको स्थानीय स्याउ बगैँचाबाटै प्रतिकेजी ५० देखि ६५ रुपैयाँमा बिक्री भएको छ । केही पालिकाका बगैँचामा ७० रुपैयाँमा पनि बिक्री भएको कार्यालयले जनाएको छ । इटालियन फुजी स्याउ १७५ रुपैयाँभन्दा माथिको मूल्यमा बिक्री भएको छ ।
कार्यालयका अनुसार यस वर्ष स्थानीय स्याउ जिल्लाभित्रको खपत परिणाम ४४१५ मेट्रिक टन अर्थात २५ प्रतिशत रहेको छ । नासो, कोशेलीमार्फत समेत १५ प्रतिशत जिल्ला बाहिर गएको छ ।
यसैगरी उत्पादन भएको स्याउमा १५ प्रतिशत अर्थात २६४८.८१ मेट्रिकटनको चाना, जुस, जाम, साइडर, ब्राण्डी, माड बनाइएको छ । यता उच्च घनत्वको स्याउ ५८६ मेट्रिकटन उत्पादन भएको छ ।
असिनापानीका साथै किरा लागेपछि अघिल्लो आर्थिक वर्षको तुलनामा स्याउ उत्पादन घटेको छ । कार्यालयका अनुसार गत वर्ष स्याउ फुल्ने बेलामा आएको भीषण असिनाले यस वर्ष स्याउ घटेको हो ।
आर्थिक वर्ष २०८१/०८२ मा २० हजार ५१२ मेट्रिक टन मेट्रिकटन उत्पादन भएकोमा यस वर्ष १८ हजार २४५ मेट्रिक टन उत्पादन भएको छ ।
यसैगरी गत आर्थिक वर्षमा ७० करोड १५ लाख ५९ हजार ४०० बराबरको स्याउ निर्यात भएकोमा यस मंसिरसम्म ४० करोडको मात्रै बिक्री भएको छ ।
केही स्याउ कोल्ड स्टोरका साथै घरमा पनि राखिएकोले निर्यात र रकम बढ्न सक्ने अनुमान छ ।
