राष्ट्र बैंकको अव्यावहारिक नीतिले बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा बढ्यो : पूर्वबैंकर
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निष्क्रिय कर्जा (एनपिए) बढ्नुको एक प्रमुख कारण नेपाल राष्ट्र बैंकका कतिपय नीतिहरू अव्यावहारिक रहेको दाबी विज्ञहरूले गरेका छन् ।
बैंक तथा फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्वबैंकर तथा वित्तीय विज्ञहरूले राष्ट्र बैंकका निर्देशनका कारण कर्जा रिकभरी जटिल बन्दै गएको बताएका हुन् ।
पूर्वबैंकर ज्ञानेन्द्रप्रसाद ढुंगानाले राष्ट्र बैंकका केही निर्देशन व्यवहारिक नहुँदा निष्क्रिय कर्जा बढेको जिकिर गरे । उनका अनुसार कर्जा असुलीका लागि ऋणीलाई चिठी काट्ने, नतिरे ३५ दिने कालोसूचीको सूचना निकाल्ने र त्यसपछि लिलामी प्रक्रियामा जाने व्यवस्था भए पनि व्यवहारमा लिलामी सफल हुन नसक्दा समस्या बढिरहेको छ ।
‘९० दिन पुगेपछि २५ प्रतिशत प्रोभिजन राख्नुपर्ने बाध्यताले बैंकलाई थप दबाब परेको छ,’ उनले भने, ‘लिलामी प्रक्रियामा गइए पनि सम्पत्ति बिक्री नहुने अवस्था छ, त्यसैले एनपिए बढिरहेको छ।’
ढुंगानाले सानो सहयोगबाट चलायमान हुन सक्ने व्यवसायलाई बैंक र नियामकले सहयोग गर्नुपर्ने बताए । उनका अनुसार चलिरहेको व्यवसाय अस्थायी रूपमा डिफल्ट भए पनि पुनः सञ्चालनमा आउन सक्ने अवस्थामा छोटो समयका लागि कर्जा प्रवाह गर्न सक्ने नीतिगत व्यवस्था आवश्यक छ ।
भूकम्प र कोरोना महामारीको समयमा राष्ट्र बैंकले १० देखि २० प्रतिशतसम्म थप कर्जा दिन अनुमति दिँदा एनपिए घटेको उदाहरण दिँदै ढुंगानाले निष्क्रिय कर्जाको परिभाषा र प्रोभिजनिङ व्यवस्थामा सुधार नगरे खराब कर्जा अझै बढ्ने खतरा रहेको बताए ।
तर, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक देवकुमार ढकालले भने समस्या सम्पूर्ण रूपमा नीतिमा मात्र नभई बैंकहरूले ती नीतिहरू सही ढंगले कार्यान्वयन नगर्दा आएको तर्क गरे । उनका अनुसार पुनर्कर्जा सुविधालाई बैंकहरूले प्रभावकारी रूपमा प्रवाह नगर्दा कतिपय उद्योगी–व्यवसायी संकटमा परेका छन् ।
ढकालले बैंकहरूले ओभर फाइनान्सिङ नियन्त्रण गर्न नसकेको र अतिरिक्त कर्जा व्यवसाय पुनर्जीवनमा प्रयोग हुन नसक्दा पनि खराब कर्जा बढिरहेको बताए ।
यसैगरी, पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्रीले कर्जा नियमनमा कमजोरी हुँदा निष्क्रिय कर्जा बढेको उल्लेख गरे । उनका अनुसार सही नियमन भएका बैंकहरूको ब्यालेन्स सिट तुलनात्मक रूपमा राम्रो देखिन्छ । ‘धितोको आधारमा मात्रै कर्जा दिनु पर्याप्त हुँदैन,’ उनले भने, ‘समग्र अर्थतन्त्र सुस्त हुँदा व्यापार–व्यवसाय प्रभावित भएको छ र त्यसको असर कर्जा चुक्तानी क्षमतामा परेको छ।’
विज्ञहरूले समग्र आर्थिक सुस्ती, बजारमा देखिएको नकारात्मक मनोविज्ञान र नीतिगत तथा कार्यान्वयनगत कमजोरीको संयुक्त प्रभावले निष्क्रिय कर्जा बढिरहेको निष्कर्ष निकालेका छन् ।
