मंगलबार ०१ पुस, २०८२

वर्षौँदेखि अलपत्र सिँचाइ आयोजना : १४ अर्ब २३ करोडका २२ रुग्ण ठेक्का तोडियो

वर्षौँदेखि अलपत्र सिँचाइ आयोजना : १४ अर्ब २३ करोडका २२ रुग्ण ठेक्का तोडियो

काठमाडौं । ठेक्का लिएर लामो समयसम्म काम नगरी सिँचाइ आयोजना अलपत्र पारिएको भन्दै सरकारले २२ वटा रुग्ण ठेक्का तोडेको छ ।

बबई सिँचाइ आयोजनाका ६, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधाम (धनुषा) अन्तर्गतका १५ र राष्ट्रिय गौरवको सुनकोशी–मरिन आयोजनाको १ ठेक्का गरी कुल २२ ठेक्का सम्झौता रद्द गरिएको हो ।

तोडिएका ठेक्काको कुल सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ रहेको छ । भेरी–बबई आयोजनामा १ करोड ७६ लाख रुपैयाँ बराबरको ठेक्का तोडिएको छ भने जनकपुरधाम कार्यालयअन्तर्गत १३ करोड १७ लाख रुपैयाँ बराबरका ठेक्का रद्द भएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिएर काम नगर्ने प्रवृत्तिको अन्त्य गर्न मातहतका निकायलाई रुग्ण ठेक्का तोड्न निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार वर्षौँदेखि समस्याग्रस्त रहेका ठेक्काहरू तोड्ने प्रक्रिया अघि बढाइएको हो ।

जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत हाल २१५ वटा चालु ठेक्का रहेकामा ३३ वटा समस्याग्रस्त छन् । तीमध्ये हालसम्म २२ वटा ठेक्का तोडिएको विभागका महानिर्देशक मित्र बरालले जानकारी दिए ।

सिँचाइतर्फकै सबैभन्दा ठूलो ठेक्का राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको रहेको छ । आयोजनाको बाँध (हेडवर्क्स), विद्युतगृहसहितका सिभिल संरचना, गेट तथा हाइड्रोमेकानिकल उपकरण आपूर्ति र जडानका लागि निर्माण व्यवसायी पटेल–रमण जेभीसँग भएको १४ अर्ब ८ करोड रुपैयाँ (करसहित)को ठेक्का सम्झौता तोडिएको हो ।