भारतीय राजदूत श्रीवास्तवको मुटुको देब्रे नशामा ‘हर्टअट्याक’
काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको स्वास्थ्यमा सुधार हुँदै आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
श्रीवास्तवलाई काठमाडौंको चम्पादेवी डाँडामा हाइकिङ गर्ने क्रममा छातीमा दुखाई अत्यधिक भएको थियो । स्वास्थ्य अवस्था बिग्रदै गएपछि उनलाई तत्काल नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी ग्रान्डी इन्टरनेसनल अस्पतालमा पुर्याइएको थियो ।
चिकित्सकका अनुसार छातीको दुखाई दिउँसो साँढे एक बजेतिर देखिएको थियो । तर उनलाई उद्धार गरी ग्रान्डी ल्याउन ४ बजे बजेको थियो ।
प्रारम्भिक उपचारपछि थप जाँच गर्दा उनलाई हृदयघात भएको पुष्टि भएको थियो । मुटुको देब्रे नशामा ‘हर्टअट्याक’ भएको थियो ।
चिकित्सकका अनुसार श्रीवास्तवको तत्काल मुटुको एन्जियोग्राफी गरी अवरुद्ध नशामा स्टेन राखिएको छ । राजदूत श्रीवास्तव अस्पतालको आईसीयूमा उपचाररत छन् ।
उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र केही दिन आईसीयूमा निगरानीमा राखिने चिकित्सकले बताएका छन् । मुटुमा अन्य केही नशामा पनि अवरोध देखिएको छ ।
