बुधबार ०२ पुस, २०८२

बर्दियामा युवकको हत्या : पूर्वमुख्यमन्त्री डिल्ली चौधरीका भाइ पेस्तोलसहित पक्राउ

बर्दियामा युवकको हत्या : पूर्वमुख्यमन्त्री डिल्ली चौधरीका भाइ पेस्तोलसहित पक्राउ

धनगढी । दाङको तुलसीपुर उपमहानगरपालिका–५ का २७ वर्षीय निरज चौधरीको बर्दिया राजापुरमा भएको हत्या आरोपमा महावीर चौधरी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय राजापुरको संयुक्त टोलीले बुधबार बिहान कैलारी गाउँपालिका–५ को बैजपुरबाट तुलसीपुर–५ कै ५१ वर्षीय महावीर चौधरीलाई पक्राउ गरेको हो । महावीर लुम्बिनीका पूर्वमुख्यमन्त्री एवम् कांग्रेस नेता डिल्लीबहादुर चौधरीका सहोदर भाइ हुन् ।

डिल्लीबहादुर चौधरीले पनि  संक्षिप्त कुरा गर्दै महाविर आफ्नो सहोदर भाइ भएको जानकारी दिँदै उनी पक्राउ परेको सुनेको बताए । बर्दियाको राजापुरमा रहेको हमार थारू रेष्टुरेन्टमा निरज चौधरीमाथि गोली प्रहार गरी हत्या गरिएको थियो । घाइते अवस्थामा चौधरीलाई उपचारका लागि नेपालगन्ज पुर्‍याएपछि प्रहरीलाई घटनाबारे जानकारी भएको थियो । घटनास्थलमा रहेका महाविर चौधरी भने मोटरसाइकल चढेर कैलालीतर्फ फरार भएका थिए । इलाका प्रहरी कार्यालय राजापुर बर्दियाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले कैलाली प्रहरीको समन्वयमा चौधरीलाई हसुलियाबाट पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीका अनुसार, महाविरको साथबाट पेस्तोल समेत बरामद गरिएको छ । उनको साथबाट बरामद भएको पेस्तोल हत्यामा प्रयोग भए/नभएको पुष्टि हुन भने बाँकी छ । चौधरी रेष्टुरेन्टका सञ्चालक रामकुमारी चौधरीका श्रीमान् बुद्धिप्रसादले सञ्चालन गर्ने पोल्टी फार्ममा काम गर्दै आएका थिए । यो घटनामा प्रहरीले यसअघि नै उनीहरू दुवै श्रीमान् श्रीमती र छोरा राहुल चौधरीलाई पक्राउ गरिसकेको छ । कैलालीबाट पक्राउ परेका महावीर चौधरी निरजकै मोटरसाइकल लिएर फरार भएको प्रहरीले जनाएको छ । उनले प्रयोग गरेको मोटरसाइकल समेत बरामद गरिएको छ ।