भौतिक पूर्वाधार पुनर्निर्माणका लागि कोषमा जुट्यो ७ करोड ५२ लाख
काठमाडौं। जेनजी आन्दोलनबाट क्षतिग्रस्त सार्वजनिक र सरकारी संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापनाका लागि स्थापना गरिएको कोषमा हालसम्म ७ करोड ५२ लाख रुपैयाँ संकलन भएको छ।
सो कोषको सदुपयोग र पुनर्निर्माण कार्यलाई व्यवस्थित बनाउने उद्देश्यले भौतिक पुनर्निर्माण समितिले सोमबार अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा बैठक गरेको थियो। बैठकले कोषको रकम विभिन्न कार्यक्रममा खर्च गर्ने निर्णय गरेको छ।
बैठकले क्षतिग्रस्त सार्वजनिक संरचनाको विस्तृत इन्जिनियरिङ डिजाइन तयार गर्न र पुनर्निर्माण प्रतिवेदन तयार गर्न साढे तीन करोड रुपैयाँ विनियोजन गरेको छ।
शहरी विकास तथा भवन निर्माण विभाग र संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमार्फत क्रमशः दुई करोड र साढे एक करोड रुपैयाँ विनियोजन हुनेछन्।
त्यस्तै तत्काल मर्मतसम्भार गरी सेवा चालू गर्न शहरी विकास विभागबाट दुई करोड र संघीय सचिवालयबाट एक करोड रुपैयाँ विनियोजन गरिएको छ। आर्थिक पुनरुत्थान, राहत तथा पुनर्स्थापनाका कार्यक्रमका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। भौतिक पूर्वाधार पुनर्निर्माण समितिले कोष र कार्यसम्पादनको पारदर्शिता सुनिश्चित गर्न www.rebuildnepal.gov.np मा छुट्टै वेवसाइट सञ्चालन गर्ने निर्णय गरेको छ।
