मंगलबार ०१ पुस, २०८२

१३ वर्षीय बालिका अंशु हत्या प्रकरण : बलात्कारपछि हत्या गरेर शव टुक्रा पारेको आशंका

१३ वर्षीय बालिका अंशु हत्या प्रकरण : बलात्कारपछि हत्या गरेर शव टुक्रा पारेको आशंका

विराटनगर । निर्मला पन्तको बलात्कारपछि हत्याको घटनालाई सम्झाउने अर्को घटना मोरङको लेटाङमा भएको छ ।

‘पिङ खेल्न जान्छु’ भन्दै गत असोज २१ गते घरबाट निस्किएकी १३ वर्षीया अंशु गौतमको बीभत्स हत्या भएको अवस्थामा शव फेला परेको छ । शव फेला परेसँगै प्रहरीले थालेको अनुसन्धानबाट बलात्कारपछि उनको हत्या भएको र प्रमाण नष्ट गर्न शवलाई टुक्रा–टुक्रा पारेको हुनसक्ने आशंकालाई बल मिलेको छ । 

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरेर शव उखुबारीमा फालिएको अवस्थामा फेला परेको थियो । लेटाङकी अंशुको भने लेटाङ–२ र बेलबारीको सिमानामा रहेको साझेदारी वन क्षेत्रमा १८ दिनपछि उनको शव क्षतविक्षत र टुक्रा–टुक्रा पारिएको अवस्थामा फेला पर्‍यो । परिवारका अनुसार अंशुको मुस्कानसहितको अन्तिम जवाफ ‘पिङ खेल्न जान्छु’ भन्ने नै उनको जीवनको अन्तिम संवाद बन्न पुग्यो । 

प्रहरीका अनुसार उनको शव कुहिएर छरिएको थियो । शवको पहिचान गर्नसमेत मुस्किल थियो । उनी अन्तिम पटक देखिएको बुधबारे चौरबाट करिब साढे चार किलोमिटर टाढा जङ्गलमा शव भेटिनुले घटना अपहरणपछि योजनाबद्ध रूपमा बलात्कार पछि हत्या भएको हुनसक्ने अनुसन्धानमा खटिएका प्रहरीले दाबी गरेका छन् । 

मोरङकी प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले अनुसन्धान निकै गम्भीर र सूक्ष्म ढंगले अघि बढाइएको बताइन् । ‘अहिलेसम्म कोही पक्राउ परेका छैनन्, तर घटनाको प्रकृति हेर्दा आशंका गर्ने आधारहरू प्रशस्त छन्,’ डीएसपी चुँडालले भनिन्, ‘हामीले विशेष अनुसन्धान टोली गठन गरेर खटाएका छौँ ।’ 

प्रहरीले घटनास्थलको प्रकृति, कपडाहरू शरीरबाट अलग भेटिनु र शवको तल्लो भाग नग्न अवस्थामा हुनुले बलात्कारपछि हत्या भएको हुनसक्ने आधार देखेको छ । ‘शव अत्यधिक कुहिएर र अंगहरू छरिएर रहेकोले अनुसन्धान जटिल बनेको छ । जंगली जनावरले पनि क्षति पुर्‍याएको हुनसक्छ, तर अपराधीले प्रमाण लुकाउन र अनुसन्धानलाई नै दिग्भ्रमित पार्न यस्तो गरेको हुन सक्ने कोणबाट पनि हामीले हेरिरहेका छौं,’ डीएसपी चुँडालले भनिन् । 

औपचारिक रूपमा पोस्टमार्टमको रिपोर्ट नआएसम्म अनुमान गर्न नमिल्ने बताउँदै उनले तथ्य र प्रमाण भेटिएपछि घटना विवरण सार्वजनिक गरिने बताइन् । ‘आशंका गर्ने आधारहरू देखिएका छन् । हामी छिट्टै सत्यतथ्य बाहिर ल्याउनेछौँ,’ उनले भनिन् । 

अभिभावक वा परिवारसँग कुनै रिसइबीका कारण अंशुलाई निशाना बनाइएको हो कि भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ । तर, एउटी निर्दोष बालिकामाथि भएको यो स्तरको क्रुरताले स्थानीय समाज त्रसित र मर्माहत बनेको छ ।