बुधबार ०२ पुस, २०८२

सेनाको रिपोर्ट : जेनजी विद्रोहमा २२ जना प्रदर्शनकारीको मृत्यु

सेनाको रिपोर्ट : जेनजी विद्रोहमा २२ जना प्रदर्शनकारीको मृत्यु

काठमाडौँ । नेपाली सेनाले भदौ २३ र २४ गतेको जेनजी विद्रोहका क्रममा कुल ७६ मध्ये २२ जना प्रदर्शनकारीको मृत्यु भएको जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सेनाले २२ प्रदर्शनकारीको मृत्यु भएको रिपोर्ट प्रस्तुत गरेको हो । 

बाँकी मृतकमा ३ जना प्रहरी, १० जना कैदी र अन्य ४१ जना रहेको सेनाको युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले जानकारी दिए । 

आन्दोलन ४८४ स्थानमा भएको पनि उनले बताए । सेनाका अनुसार ६८८ वटा सरकारी कार्यालय, २५९ वटा निजी निवास, १२८ वटा व्यापारिक प्रतिष्ठान, १९८ वटा राजनीतिक दलका कार्यालय, ३०७ वटा प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ ।

यस्तै आन्दोलनका क्रममा १५ हजार ५८८ जना कैदीबन्दी भागेकामा हालसम्म ८ हजार ७९९ जनालाई पुनः नियन्त्रणमा लिइएको सेनाको भनाइ छ । 

सेनाले आन्दोलनकै क्रममा ९७८ थान हतियार हराएकोमा ५८६ वटा फिर्ता गराइएको पनि आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।