बिहीबार ०३ पुस, २०८२

वेस्ट इन्डिजलाई हराएको नेपाली क्रिकेट टोलीलाई प्रचण्डको बधाई

वेस्ट इन्डिजलाई हराएको नेपाली क्रिकेट टोलीलाई प्रचण्डको बधाई

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वेस्ट इन्डिजसँगको पहिलो टी–२० आई खेलमा ऐतिहासिक जित निकाल्ने नेपाली टोलीलाई बधाई दिएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘युएईमा जारी युनिटी कपअन्तर्गत पहिलो खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई हराउँदै ऐतिहासिक विजय हासिल गरेकोमा हार्दिक बधाई ।’

शनिबार राति सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको थियो । नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सकेको थियो ।

यो सफलताले नेपाली युवाशक्ति, उत्कृष्ट क्षमता, अनुशासन र राष्ट्र निर्माणप्रतिको संकल्पबाट हरेक चुनौती सामना गर्न सक्षम छ भन्ने पुष्टि गरेको प्रचण्डले उल्लेख गरेका छन् ।

पूर्वप्रधानमन्त्री प्रचण्डले नेपाली टोलीले सिरिजका आगामी खेलहरूमा समेत अझै उत्कृष्ट प्रदर्शनमार्फत देशलाई गौरवान्वित पार्ने विश्वास व्यक्त गरेका छन् ।