कुलमानले बन्द गराए दीपक खड्काले मन्त्रीका लागि प्राधिकरणमा खोलेको कार्यकक्ष
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणमा मन्त्रीका लागि बनाइएको कार्यकक्ष तत्काल बन्द गर्न निर्देशन दिएका छन्।
विद्युत् प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कमा रहेको सो कार्यकक्ष यसअघि तत्कालीन ऊर्जामन्त्री दीपक खड्काले १९ मंसिर २०८१ मा निर्माण गरेका थिए । प्राधिकरणको अध्यक्ष मन्त्री हुने व्यवस्था भए पनि, त्यति बेला कार्यकारी निर्देशक रहेका घिसिङसँग विवाद बढेपछि खड्काले प्राधिकरणमै छुट्टै कार्यकक्ष बनाई बस्न थालेका थिए।
मंगलबार घिसिङले सो कार्यकक्ष बन्द गरी प्राधिकरणको नियमित प्रयोजनका लागि प्रयोग गर्न निर्देशन दिएका हुन्।
घिसिङ ऊर्जामन्त्री बनेलगत्तै प्राधिकरणभित्रका अनियमितता रोक्ने र डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता असुल गर्ने विषयमा सक्रिय भएका छन्। सोही क्रममा उनले मन्त्री कार्यकक्षको आवश्यकता नरहेको भन्दै बन्द गराउने निर्णय गरेका हुन्।
