बिहीबार ०३ पुस, २०८२

सुदन गुरुङको संस्था र राजनीतिसँग आबद्ध छैनौं : शंकर ग्रुप

सुदन गुरुङको संस्था र राजनीतिसँग आबद्ध छैनौं : शंकर ग्रुप

काठमाडौं । जेनजी आन्दोलनकारी समूहका अगुवा सुदन गुरुङ र उनको संस्थासँग जोडेर आएका समाचारहरुप्रति असहमति जनाउँदै शंकर ग्रुप र इन्फिनिटी होल्डिङ्सले सो संस्था र उनीहरुको राजनीतिसँग कुनै सम्बन्ध नरहेको बताएको छ ।

दुवै संस्थाले संयुक्त बिज्ञप्ति जारी गर्दै गुरुङले नेतृत्व गर्ने ‘हामी नेपाल’ संस्था र उसको राजनीतिसँग आफ्नो कुनै संलग्नता र सरोकार नरहेको जनाएको हो ।

केही दिनयता जेनजी अगुवा सुदन गुरुङ, इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट र शंकर ग्रुपका सञ्चालक साहिल अग्रवालका विषयमा विभिन्न अनलाइन, छापा एवं सामाजिक सञ्जालमा आएका भ्रामक र काल्पनिक समाचार सामग्रीप्रति इन्फिनिटी होल्डिङ्सले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड महामारीका बेला इन्फिनिटी होल्डिङ्सले व्यावसायिक धर्मबाट माथि उठेर मानव सेवामा पुण्यकर्म गर्नुपर्दछ भन्ने उद्देश्यले सुदन गुरुङ संलग्न संस्था ‘हामी नेपाल’ नामक संस्थासँग हातेमालो गरेको तर त्यसपछि कुनै सम्बन्ध र सहकार्य नरहेको उसले स्पष्ट पारेकाे छ ।

‘हजारौं विपत्तिमा पर्नुभएका आमा, बुबा, दाजुभाइ, दिदीबहिनीको उपचार र पुनर्स्थापनामा सहयोगी हात बढाएका थियौं, जसका कारण हजारौंको ज्यान जोगिन पुग्यो र त्यसमा हामीलाई गर्व पनि छ, उक्त महामारीका समयमा ‘हामी नेपाल’ संस्था र त्यसका नेतृत्वकर्ता सुदन गुरुङसँग चिनजान भएको थियो,’  विज्ञप्तिमा भनिएको छ, ‘त्यही क्रममा हामीले कोरोना प्रभावित नेपालीलाई सहयोग गर्न उहाँहरूलाई परिचालन पार्टनर छनोट गरेका थियौं । त्यसयता उक्त संस्थासँग हाम्रो कुनै सहकार्य नभएको समेत स्पष्ट पार्न चाहन्छौं ।’

त्यसबेला उक्त सहयोग पारदर्शी रूपमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गरिएको र त्यतिबेलै सार्वजनिक प्रेस विज्ञप्ति मार्फत् जानकारी गराइएको इन्फिनिटीले जनाएको छ । उक्त संस्थाले आफ्नो वेबसाइटमा पनि इन्फिनिटीले गरेको सहयोगलाई पारदर्शी रूपमै उल्लेख गरेर इन्फिनिटीको लोगो प्रयोग गरेको थियो ।

त्यसयता सुदन गुरुङ र उनको संस्थासँग कुनै पनि सहकार्य नगरिएको र उनी र उनको समूहको राजनीति र संस्थागत गतिविधिसँग कुनै सरोकार र सम्बन्ध नरहेको इन्फिनिटीको भनाइ छ ।

तथापि, पछिल्लो समयमा केही सञ्चारमाध्यमले शंकर ग्रुप र इन्फिनिटी होल्डिङ्स तथा यसका सञ्चालकहरूसँग सुदन गुरुङका अहिलेका गतिविधिलाई जोड्ने र भ्रामक खबरहरू प्रकाशन गरिनु दुःखद रहेको भन्दै इन्फिनिटी होल्डिङ्सले यस सन्दर्भमा कुनै पनि सञ्चारमाध्यमले आफूहरूसँग सोधखोज नगरेको एवं सत्यतथ्य नखोजी अनुमानका भरमा समाचार प्रकाशन र प्रसारण गरेको गुनासो गरेको छ ।