बिहीबार ०३ पुस, २०८२

आज चन्द्रग्रहण, कुन राशिलाई कस्तो प्रभाव ?

आज चन्द्रग्रहण, कुन राशिलाई कस्तो प्रभाव ?

काठमाडौं ।  खगोलविद्हरूले आइतबार राति दुर्लभ दृश्यको आनन्द लिने मौका पाउनेछन् । एसिया, युरोप र अफ्रिकाका विभिन्न भागमा देखिने यस पूर्ण चन्द्रग्रहणका क्रममा ‘ब्लड मुन’ उदाउनेछ ।

जब सूर्य, पृथ्वी र चन्द्रमा एउटै रेखामा पर्छन्, पृथ्वीको छायाँले चन्द्रमामा परेर यसलाई डरलाग्दो गाढा रातो रङमा देखाउँछ । यो अद्भुत दृश्यले सहस्राब्दीयौँदेखि मानिसलाई आकर्षित गर्दै आएको छ ।

भारत र चीनसहित एसियाका मानिसहरू यस ग्रहण अवलोकनका लागि सबैभन्दा अनुकूल स्थानमा हुनेछन् । साथै, अफ्रिकाको पूर्वी किनार र पश्चिमी अस्ट्रेलियामा पनि ब्लड मुन देखिनेछ ।

पूर्ण चन्द्रग्रहण १७ः३० जिएमटीदेखि १८ः५२ जिएमटीसम्म रहनेछ । युरोप र अफ्रिकाका खगोलविद्हरूले चन्द्रमाको उदयसँगै आंशिक ग्रहण देख्ने मौका पाउनेछन् । तर अमेरिकाका दर्शकहरूले भने यसपटक ग्रहण गुमाउनेछन् ।

उत्तरी आयरल्यान्डको क्विन्स युनिभर्सिटी बेलफास्टका खगोलशास्त्री रायन मिलिगनका अनुसार चन्द्र ग्रहणको समयमा चन्द्रमा रातो देखिनुको कारण पृथ्वीको वायुमण्डल हो । उनले भने, “सूर्यको प्रकाश वायुमण्डलमा प्रतिबिम्बित र छरिएको हुन्छ । नीलो तरङ्ग आयाम छोटो भएकाले सजिलै फैलिन्छ, तर रातो तरङ्ग आयाम लामो भएकाले चन्द्रमा पुग्छ र यसलाई रक्तिम रङ दिन्छ ।”

सूर्य ग्रहणजस्तो विशेष चश्मा वा पिनहोल प्रोजेक्टरको आवश्यकता नपर्ने भएकाले चन्द्र ग्रहण हेर्न सजिलो हुन्छ । स्पष्ट मौसम र उपयुक्त स्थान भए पर्याप्त हुन्छ ।

यसअघि यस वर्ष मार्चमा पूर्ण चन्द्रग्रहण भएको थियो । त्यसअघि सन् २०२२ मा भएको थियो । आफूलाई ‘सूर्य ग्रहण चेजर’ भनी चिनाउने मिलिगनले आइतबारको घटना आउँदो वर्ष हुने ‘ठूलो घटना’ को प्रस्तावना भएको बताए ।

सन् २०२६ अगस्ट १२ मा युरोपको केही भागमा दुर्लभ पूर्ण सूर्यग्रहण देखिनेछ । त्यसबेला चन्द्रमाले सूर्यलाई पूर्ण रूपमा ढाक्नेछ ।

ज्योतिषशास्त्रअनुसार ग्रहणले विभिन्न राशिमा फरक प्रभाव पार्नेछ। मेष राशि भएकालाई लाभ, वृषलाई शुखम्, मिथुनलाई माननाश, कर्कटलाई कष्टम्, सिंहलाई स्त्रीपीडा, कन्यालाई सौख्यम्, तुलालाई चिन्ता, वृश्चिकलाई व्यथा, धनुलाई श्रीप्राप्ती, मकरलाई क्षति, कुम्भलाई घात र मीन राशि भएका मानिसलाई व्यय हुनेछ । यस आधारमा मिथुन, कर्कट, सिंह र तुला, वृश्चिक, मकर, कुम्भ, मीन राशि भएकाले हेर्नु हुँदैन । अन्य राशि भएकाहरूले हेर्न मिल्ने छ । शतभिषा र पूर्वाभाद्रपदा नक्षत्रमा जन्म भएका र कुम्भ राशि भएका मानिसहरूका लागी यो ग्रहणले अति कष्ट दिनेछ ।

मिलिगनले पछिल्ला एक दशकमा संसारभर १२ वटा पूर्ण सूर्यग्रहणको अवलोकन गरेका छन्। आउँदो वर्षको पूर्ण ग्रहण स्पेन र आइसल्यान्डमा देखिनेछ । यो सन् २००६ पछि मुख्यभूमि युरोपमा पहिलो हुनेछ । अन्य मुलुकहरूले आंशिक ग्रहण देख्न सक्नेछन् ।

स्पेनमा, मेड्रिड र बार्सिलोना बीचको करिब एक सय ६० किलोमिटर (एक सय माइल) लामो क्षेत्रमा समग्रता देखिनेछ । तर यी दुवै सहरले पूर्ण घटना अवलोकन गर्न नपाउने मिलिगनले बताउनुभयो ।

सन् २०२४ अप्रिलमा उत्तर अमेरिकामा भएको पूर्ण सूर्य ग्रहणपछि यो पहिलो पूर्ण सूर्य ग्रहण हुनेछ ।