बिहीबार ०३ पुस, २०८२

सरकार निरंकुशताको बाटोमा, अब पतन सुरु भयो : ज्ञानेन्द्र शाही

सरकार निरंकुशताको बाटोमा, अब पतन सुरु भयो : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई निरंकुशताको पराकाष्ठा भएको आरोप लगाएका छन्।

शाहीले सामाजिक सञ्जाल बन्द गर्नुलाई सरकारको पतनको बाटोको सुरुवात मानेका छन्। उनका अनुसार, सरकारले नागरिकको आवाजलाई दबाउन खोजेको र यसले सरकारविरुद्ध जनआक्रोश बढ्ने बताए ।  

शाहीले सरकारको यो कदमलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार र सरकारको कमजोरीको रूपमा व्याख्या गरेका छन्। उनले सरकार आफ्ना आलोचना सुन्न डराएको बताएका छन् ।  

यसैगरी, विभिन्न राजनीतिक विश्लेषक र नागरिक समाजका अगुवाले पनि सरकारको यो निर्णयलाई अलोकतान्त्रिक र निरंकुश भनेका छन्।  

सरकारले आफ्ना कमजोरी लुकाउन र जनतालाई सूचनाबाट बञ्चित गर्न यो कदम चालेको आरोप उनीहरूको छ ।  

सरकारले भने सामाजिक सद्भाव बिथोल्ने सामग्री र अफवाह फैलाउने कार्यलाई नियन्त्रण गर्न सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको जनाएको छ ।  

सरकारको यो तर्कको आलोचना गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले सरकारले यस्ता समस्या समाधान गर्न अन्य कानुनी र प्राविधिक उपाय अपनाउनु पर्नेमा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएर नागरिकको स्वतन्त्रतामाथि नै हस्तक्षेप गरेको आरोप लगाएका छन् ।  

​यो घटनाले नेपालमा नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताको विषयमा नयाँ बहस सुरु भएको छ।