यस्तो छ आवको पहिलो महिनामा सरकारको आम्दानी र खर्चको अवस्था
काठमाडौँ। चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा सरकारले ८५ अर्ब १९ करोड रुपैयाँ आम्दानी गरेको छ भने ४६ अर्ब ३० करोड रुपैयाँ खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार, यो वार्षिक आम्दानीको ५.५६ प्रतिशत र खर्चको २.३६ प्रतिशत हो।
सरकारले चालू वर्षका लागि १५ खर्ब ३३ अर्ब रुपैयाँभन्दा बढी राजस्व उठाउने लक्ष्य राखेको छ। साउन महिनासम्ममा कर राजस्वबाट ८० अर्ब ६७ करोड रुपैयाँ र गैरकर राजस्वबाट ३ अर्ब ७९ करोड रुपैयाँ संकलन भएको छ। यसबाहेक, वैदेशिक अनुदानबाट ४२ करोड र अन्य स्रोतबाट ३० करोड रुपैयाँ सरकारी खातामा जम्मा भएको छ।
चालू वर्षका लागि कुल १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ। यसमध्ये चालु शीर्षकमा १.५६ प्रतिशत अर्थात् १८ अर्ब ४७ करोड रुपैयाँ खर्च भएको छ।
सबैभन्दा कम खर्च पुँजीगत शीर्षक मा भएको छ, जहाँ ४ खर्ब ७ अर्ब रुपैयाँ विनियोजन गरिएकामा साउन महिनासम्म ०.१८ प्रतिशत अर्थात् ७२ करोड ६३ लाख रुपैयाँ मात्र खर्च भएको छ।
यता, सबैभन्दा धेरै खर्च वित्तीय व्यवस्थापन शीर्षक मा भएको छ। यो शीर्षकमा ३ खर्ब ७५ अर्ब रुपैयाँ विनियोजन गरिएकामा साउन मसान्तसम्म ७.२२ प्रतिशत अर्थात् २७ अर्ब १० करोड रुपैयाँ खर्च भएको छ।
