आइतबार ०६ पुस, २०८२

वार्षिक १०० कामदार पठाउन नसक्ने मेनपावरको नवीकरण सुरु

वार्षिक १०० कामदार पठाउन नसक्ने मेनपावरको नवीकरण सुरु

काठमाडौं। वार्षिक १०० कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने मेनपावरको नवीकरण सुरु भएको छ । वैदेशिक रोजगार विभागले उनीहरूको नविकरण सुरु गरेको हो । विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले आजदेखि नवीकरण सुरु गरिएको बताए ।

दुई वर्षसम्म वार्षिक १०० कामदार पठाउन नसक्ने मेनपावर व्यवसायीहरूको इजाजतपत्र रद्ध गरिने कानूनी व्यवस्था थियो । तर, हालै केही नेपाल ऐन संशोधनमार्फत उक्त प्रावधान खारेज गरिएको छ ।

खारेज गरिएसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बोर्डलाई नवीकरण गर्न पत्राचार गरेको थियो । सोही अनुसार विभागले नवीकरण सुरु गरेको महानिर्देशक भट्टराईले बताए ।

उनका अनुसार नवीकरण अनलाइनमार्फत समेत गरिनेछ । त्यसका लागि मेनपावर व्यवसायीहरूले आवश्यक कागजात अनलाइनमार्फत पेश गर्नपर्ने हुन्छ । सोही आधारमा विभागले नवीकरण गरिदिने उनको भनाइ छ ।

२०७५ सालमा वैदेशिक रोजगार ऐन संशोधन गर्दै दुई वर्षसम्म लगातार वार्षिक १०० जना कामदार नपठाउने व्यवसायीको इजाजतपत्र रद्ध गर्ने व्यवस्था राखिएको थियो । तर, हरेक वर्ष बाधा अड्काउ फुकाउमार्फत सरकारले नवीकरण गर्दै आएको थियो ।

ऐनमा संशोधन भएपछि नियमावलीमा संशोधन हुन नसक्दा थप अन्यौलता कायम थियो । मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयसँग राय माग गरेको थियो । महान्यायाधिवक्ता कार्यालयले पुरानो कानूनी व्यवस्थाको अयोग्यता निष्क्रीय भएकाले त्यसरी वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतपत्रवालाहरूको नवीकरण गर्नका लागि कुनै कानूनी बाधा नरहेको राय दिएको थियो ।

सोही आधारमा साउन २६ गते मन्त्रीस्तरीय निर्णय गर्दै श्रम मन्त्रालयले नवीकरण गराउन विभागलाई पत्राचार गरेको थियो ।