पारिवारिक खेतीलाई नाफामूलक र दिगो पेसा बनाउन ठोस कदम चाल्नुपर्छ : मन्त्री अधिकारी
काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले पारिवारिक खेतीलाई जीवनयापनको साधनमात्र नभई सम्मानजनक, नाफामूलक र दिगो पेसा बनाउन ठोस कदम चाल्नुपर्ने बताएका छन् ।
आज ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलवायु स्मार्ट कृषि प्रविधि र बीउबिजन, अनुसन्धानमा लगानी, कृषक उद्योग बजार, एकीकृत प्रणाली, वित्त समावेशीकरण, सहुलियत ऋण, बीमा र कृषक कोष प्रादेशिक वा स्थानीय तहमा कृषि व्यवसाय इन्कुबेसन केन्द्र स्थापना जस्ता कार्यक्रमहरूका माध्यमबाट प्रवर्द्धन गर्नुपर्ने बताए ।
नेपालको पहाडी र पर्वतीय कृषि अनुभवले जलवायु अनुकूलन, अधिकतम उपयोग र समुदायमा आधारित दृष्टिकोणका क्षेत्रमा विश्व समुदायलाई महत्त्वपूर्ण सूचना उपलब्ध गराउनसक्ने जिकिर गरे ।
पारिवारिक खेती प्रणालीको दिगो विकास र साना किसानले अन्तर्राष्ट्रिय बजारमा समान पहुँच र लाभ पाउन सकुन् भन्ने उद्देश्यका लागि कृषि उपजका करमा विश्लेषण गरी लचकता अपनाउने र न्यायसङ्गत व्यापार अवसरको प्रवर्द्धन गर्ने पक्षमा सामूहिक वकालत गर्नुपर्ने बताए ।
नेपालमा साना तथा पारिवारिक किसानको आवश्यकतालाई प्राथमिकता दिने नीतिहरू निर्माण र सर्वोत्तम अभ्यासहरू आदानप्रदानमा सक्रिय रहन क्षेत्रीय साझेदारी गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
मन्त्री अधिकारीले पारिवारिक खेती प्रणालीलाई समावेशी, ग्रामीण रूपान्तरणको प्रमुख घटक र जलवायु परिवर्तनको चुनौतीबिच दिगो विकासको आधार स्तम्भको रूपमा विकास गर्नुपर्ने बताए । नेपालले दिगो, समावेशी र जलवायु उत्थानशील कृषि क्षेत्र निर्माण गर्ने अटल प्रतिबद्धता लिएर अघि बढेको बताए ।
