स्वदेशमै सम्भावना खोज्ने बाजुराका २१ वर्षीय युवा : काठमाडौंमा ‘Triple S Accessories’
काठमाडौं । वैदेशिक रोजगारीको भीडबीच बाजुरा बुढीगंगा नगरपालिका–५, नौविसका २१ वर्षीय सुवास थापाले स्वदेशमै आफ्नो भविष्य निर्माण गर्ने बाटो रोजेका छन्। हाल ब्याचलर तहमा अध्ययनरत थापाले अध्ययनसँगै काठमाडौंको नयाँ बानेश्वरमा नयाँ व्यवसाय सुरु गरेका छन्।
थापाले आइपिएस महलको ठीक विपरीत मिनी मार्केट क्षेत्रमा “Triple S Accessories” सञ्चालनमा ल्याएका छन्। करिब ८ लाख रुपैयाँको प्रारम्भिक लगानीबाट सुरु गरिएको यस पसलमा महिलाहरूका लागि शृङ्गार सम्बन्धी आकर्षक सबै खाले सामानहरू उपलब्ध छन्।
“युवाले विदेश जानु मात्रै विकल्प होइन, मेहनत र लगनशिलताका साथ स्वदेशमै पनि सफल हुन सकिन्छ,” थापाले भने। उनका अनुसार, देशमै अवसर खोज्ने र त्यसलाई उपयोग गर्न सक्नेहरूले आफ्नो सपना आफ्नै भूमिमा पूरा गर्न सक्नेछन्।
थापाले आफ्नो व्यवसायमार्फत रोजगारी सिर्जना गर्दै अन्य युवालाई पनि उद्यमशीलतामा अघि बढ्न प्रेरणा दिने लक्ष्य लिएका छन्।



