शनिबार ०५ पुस, २०८२

शैलुङ गाउँपालिकाको सेवा काठमाडौंबाटै

शैलुङ गाउँपालिकाको सेवा काठमाडौंबाटै

काठमाडौं । दोलखाको शैलुङ गाउँपालिकाले आफ्ना वडाका बासिन्दाको सुविधाका लागि काठमाडौंबाटै सेवा प्रवाह गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा शिविर सन्चालन गरेर व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरणको सेवा दिएको हो ।

सुरूमा साउनको १८ गतेदेखि २३ गतेसम्म शिविर सन्चालन गरे पनि सेवाग्राहीको चाप अनुसार अझै चार दिनसम्म सेवा प्रवाह गर्ने गाउँपालिका अध्यक्ष रिमलबाबु श्रेष्ठले बताए ।

शैलुङको स्थायी ठेगाना भएका व्यक्तिहरु अधिकांश काठमाडौंमा बसोबास गर्ने र कामको व्यस्तता, अशक्तता लगायतका विभिन्न कारणले गाउँमा पुग्न गाह्रो हुने भएकाले उनीहरुको सुविधाका लागि काठमाडौंमै अस्थायी शिविर सन्चालन गरेर सेवा प्रवाह गरेको गाउँपालिकाका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

‘तीन जना कर्मचारी खटाएर एक सय बढी व्यक्तिलाई सेवा दिएका छौं,’ श्रेष्ठले भने, ‘अझै ३०–४० जना जतिको काम बाँकी भएकाले चार–पाँच दिनसम्म सेवा जारी रहन्छ ।’ आजसम्म भृकुटीमण्डपबाट सेवा प्रवाह गरे पनि अब व्यक्तिको घर–घरमै पुगेर सेवा प्रवाह गर्ने उनले बताए ।

उनका अनुसार यसरी काठमाडौंमा बसोबास गर्नेहरुलाई लक्षित गरी सेवा प्रवाह गरेको यो लगातार तेस्रो वर्ष हो । यसबाट नागरिकहरु खुसी भएको पाएको उनले बताए ।

‘कतिपय औषधि उपचार गरिरहनुपर्ने अवस्थाको हुनुहुन्छ। उहाँहरुलाई गाडी चढेर गाउँ आउजाउ गर्न गाह्रो हुने भएकाले काठमाडौंमै पुगेर सेवा दिन थाल्यौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘जनताको सेवा हाम्रो यो तरिका धेरैले मन पराउनु भएको छ ।’