शनिबार ०५ पुस, २०८२

संविधान संशोधनका लागि अन्य दलसँग संवाद गर्न कांग्रेसले सिटौलालाई संयोजक तोक्ने तयारी

संविधान संशोधनका लागि अन्य दलसँग संवाद गर्न कांग्रेसले सिटौलालाई संयोजक तोक्ने तयारी

काठमाडौं । सत्तको प्रमुख घटक दल कांग्रेसले संविधान संशोधनका लागि अन्य दलसँग संवाद गर्ने कार्यदलको संयोजक नेता कृष्णप्रसाद सिटौलालाई तोक्ने तयारी गरेको छ ।

कांग्रेस केन्द्रीय समिति बैठकले गरेको निर्णय अनुसार कार्यदल गठन गर्न लागिएको कांग्रेस उच्च स्रोतले जानकारी दिएको छ । संविधान निर्माणका क्रममा सक्रिय पूर्व महामन्त्री सिटौलालाई कार्यदलको संयोजक बनाउने गरी पार्टीभित्र छलफल चलेको कांग्रेसका एक शीर्ष नेताले जानकारी दिएका छन ।

कार्यदलमा २/३ दिनमा घोषणा हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए । पौडेलले भने, ‘कार्यदल २/३ दिनमा घोषणा हुन्छ । एक जना संयोजक बन्नुहुन्छ । कार्यदलमा रहने समिति सदस्य आवश्यकता र औचित्यताको आधारमा ५र७ जना बन्नुहुन्छ ।’

नेता सिटौलाले पार्टीले निर्णय गरे जिम्मेवारीमा बस्ने बताएका छन । संविधान संशोधनको विषयलाई सार्थक निष्कर्षमा पुर्‍याउन कार्यदल गठन गर्ने निर्णय पार्टीले गरेको थियो ।

कार्यदलले संविधान निर्माणमा सहकार्य गरेका राजनीतिक दल, संविधान निर्माणमा योगदान गरेका विज्ञ, विशेषज्ञ एवं सरोकारवाला नागरिक समाजसँग संवाद गर्नेछ । साथै, कार्यदलले पार्टीभित्र संविधान संशोधनका विषयमा समेत छलफल चलाउने जिम्मेवारी प्राप्त गर्नेछ ।