भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय
काठमाडौं । नेपाल शिक्षक महासंघले भदौको दोस्रो हप्तादेखि आन्दोलन गर्ने भएको छ ।
महासंघको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
विद्यालय शिक्षा ऐन जारी गर्न सरकारलाई दिएको समय सीमा आज सकिँदै छ । समय सीमाभित्र पनि सरकारले ऐन जारी नगरेपछि आफूहरूले आन्दोलनमा जाने निर्णय गरेको उनले बताए ।
समयभित्र ऐन जारी नभएपछि थप रणनीति बनाउन महासंघको बैठक आज बसेको हो ।
महासंघले भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने निर्णय गरिरहेको समयमा प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बसिरहेको छ ।
समिति बैठकबाट नेपाल शिक्षक महासंघको सदस्य रहेका शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा सदस्यता स्वतः निस्क्रिय हुने प्रस्ताव पारित भएको छ भने शिक्षकको बढुवा तीन प्रकारबाट गर्ने प्रस्ताव पारित भएको छ ।
यसैगरी शिक्षकको कार्यसम्पादन मूल्याङ्कन अंक घटाएर ८० बनाउने प्रस्ताव पारित गरेको छ भने ।
आन्तरिक प्रतियोगिता र आवधिक बढुवाको सट्टा आन्तरिक प्रतियोगिता, जेष्ठता र कार्यसम्पादन मूल्याङ्कन र कार्यक्षमता मूल्याङ्कनको आधारमा शिक्षक बढुवा गर्ने प्रस्ताव पारित भएको हो ।
गत २० चैतदेखि २९ दिन लामो शैक्षिक आन्दोलन गरेको महासंघले शिक्षा ऐन जारी नभए फेरि आन्दोलन गर्ने चेतावनी दिँदै आएको छ ।
