शनिबार ०५ पुस, २०८२

अन्तर्राष्ट्रिय युवा दिवसको मूल समारोहलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने

अन्तर्राष्ट्रिय युवा दिवसको मूल समारोहलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने

काठमाडौं । १२ अगष्ट (साउन २७ गते) मनाइने अन्तर्राष्ट्रिय युवा दिवसको मूल समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्वोधन गर्ने भएका छन् ।

‘दिगो विकास र सुनौलो भविश्यको सार: स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ भन्ने मूल नाराका साथ साताव्यापी कार्यक्रमसहित नेपालमा पनि अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ ।

दिवसको मूल समारोह साउन २७ गते १० बजे भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हुने र सो समारोहलाई राष्ट्रपति पौडलले सम्बोधन गर्ने राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

युवा दिवस मनाउन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा २८५ संस्थागत सदस्यसहित मूल समारोह समिति र कार्यकारी उपाध्यक्ष बस्नेतको अध्यक्षतामा १७ सदस्यीय सचिवालय गठन गरिएको छ ।

नेपालको संविधानमा उल्लेखित युवा सम्वन्धी व्यवस्थालाई कार्यान्वयन गर्न, युवा केन्द्रित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति र कानून निर्माणमा पैरवी गर्न, युवालक्षित मुद्दाहरूका सवालमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सचेतना अभिवृद्धि गर्न उत्सवमय ढंगले अन्तर्राष्ट्रिय युवा दिवस मनाइने मूल समारोह समितिका सदस्य सचिव गेहनाथ गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गौतमले दिवसका अवसरमा नेपालस्थित संयुक्त राष्ट्रसंघीय निकायहरु तथा अन्य संघसंसस्थाहरुको सहकार्यमा साताव्यापी  विविध कार्यक्रमहरु आयोजना भइरहेको जनाए । साउन २७ गते हुने मूल समारोह परिषदसहित युवाको क्षेत्रमा क्रियाशील सबै सरोकारवाला, निकाय र संघसस्थाको साझा कार्यक्रम भएकाले सबैलाई उपस्थित भई उत्सवमय रुपमा मनाउन समेत परिषदले आह्वान् गरेको छ । परिषदले सबै प्रदेश र स्थानीय तहमा पनि युवा दिवस मनाउन अपिल गरेको छ ।

सन् १९९८ को अगष्ट ८–१२ मा पोर्चुगलको राजधानी लिसवनमा विश्वका १४० देशका युवा मामिला हेर्ने मन्त्रीहरुको विश्वस्तरीय सम्मेलनले युवाको पक्षमा ८८ बुँदे घोषणापत्र जारी गरेको थियो ।

सोही सम्मेलनको सिफारिस अनुसार १७ डिसेम्बर १९९९ मा सम्पन्न संयुक्त राष्ट्रसंघको ५४ औं साधारण सभाले १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा मनाउने घोषणा गरेको थियो । सोही अनुसार सन् २००० देखि हरेक वर्षको १२ अगस्टमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिन्छ ।