एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधानबारे सर्वेक्षण गर्दै बुद्धिजीवी परिषद्
काठमाडौँ । नेपाल बुद्धिजीवी परिषद्ले नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिने विधानका अन्तर्वस्तुहरूमाथि गुगल सर्वेक्षण गरिरहेको छ ।
गुगल फारम मार्फत सर्वेक्षण गरिरहेको हो । फारममा संगठनात्मक संरचनादेखि पार्टी कार्यक्रम जनताको बहुदलीय जनवाद (जबज) बारे समेत अभिमत लिन खोजिएको छ ।
७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने वा नहटाउने विकल्पमा पनि सर्वेक्षण गरिएको छ । केन्द्रीय कमिटीले यो दुवै व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको छ ।
तर बुद्धिजीवी परिषद्ले यी प्रस्तावहरू खुला गरेर सर्वेक्षण गरिरहेको छ । आयोजक महाधिवेशनको स्वतः प्रतिनिधि हुने वा नहुने, ३३ प्रतिशत महिला पर्याप्त छ वा छैन, पदाधिकारी संख्या कति बनाउने जस्ता विषयमा पनि सर्वेक्षण गरिरहेको छ ।
परिषद्का अध्यक्ष गजेन्द्र थपलिया नागरिकको अभिमत संकलन गर्नका निम्ति सर्वेक्षण विधि अपनाइएको बताउँछन् । ‘एमाले जनताको अभिमतबाटै यहाँसम्म आइपुगेको हो । जनताको अभिमत कस्तो छ भन्ने परीक्षण गरिरहनुपर्छ’ उनी भन्छन्, ‘पार्टीको विधान महाधिवेशन पनि हुँदै गरेकाले पार्टी कार्यकर्तासँगै जनताको अभिमत पनि संकलन गरेर बुझाउने तयारी गरेका हौँ ।’
