शनिबार ०५ पुस, २०८२

बहुविवाहलाई वैधता दिने चर्चा झुटो : कानुनमन्त्री

बहुविवाहलाई वैधता दिने चर्चा झुटो : कानुनमन्त्री

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले बहुविवाहलाई वैधता दिन लागिएको चर्चा झुटो भएको दाबी गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै मन्त्री चौरसियाले मुलुक अपराध संहिताले बर्जित गरेको बहुविवाहलाई वैधता दिने तयारी नभएको बताएका हुन् ।

‘समाजलाई नकारात्मक असर पार्ने तथा सामाजिक मूल्य र मान्यतामा प्रतिकुल प्रभाव पार्नेगरी बहुविवाह लगायतको कुनै पनि विधेयक यस सम्मानित सदनमा पेश नहुने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु’, उनले भने ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १७५ ले बहुविवाहलाई दण्डनीय अपराध भनेर बर्जित गरेको छ ।

तर, कानुन मन्त्रालयले विद्यमान प्रावधानलाई संशोधन गरेर ‘विशेष परिस्थितिमा’ बहुविवाहलाई वैधता दिने गरी मस्यौदा तयार भएको समाचार प्रकाशन भएपछि आलोचना भइरहेको थियो ।

यसबारे सदनमा पनि कुरा उठेपछि कानुनमन्त्री चौरसियाले बहुविवाहलाई वैधता दिने गरी कानुन संशोधन नगरिने बताएका हुन् ।

‘सामाजिक व्यवस्था नै खलल गर्नेगरी कानुन निर्माण गर्ने विषयमा कोही पनि सहमत हुन सक्दैन, नेपाल सरकार मन्त्रिपरिषद्को विधायन समितिमा विधेयकको मस्यौदा विचाराधीन रहेकै अवस्थामा केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समाचार प्रकाशन भएको र यस विषयमा माननीय सांसदज्युहरुले चासो व्यक्त गरी सम्मानित सभामा उठाउनुभएका विषयहरूप्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ उनले भने ।

यद्यपि उनले मुलुकी अपराध संहिताका विद्यमान प्रावधानहरूमा संशोधन गर्ने तयारी भने भएको उनले बताए ।

बहुविवाहको उमेर, अग्रिम जमानत, राष्ट्रपतिबाट दिइने आममाफीबारे विधेयकमा संशोधन प्रस्ताव आएको भन्दै उनले आवश्यक संशोधन गर्ने निर्णय भएको बताए ।