हेटौंडाको प्रादेशिक कृषि थोक बजार निर्माण भएको एक वर्षपछि हस्तान्तरण
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित प्रादेशिक कृषि थोक बजार निर्माण भएको एक वर्षपछि हस्तान्तरण गरिएको छ ।
बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ७० प्रतिशत र हेटौंडा उपमहानगरपालिकाको ३० प्रतिशत लगानीमा निर्माण भएको आधुनिक कृषि थोक बजारको आइतबार उपमहानगरपालिका कार्यालयलाई हस्तान्तरण गरिएको हो । थोक बजार गत भदौ ०८१ मा तयार भइसकेको संरचना हो ।
थोक बजार सञ्चालन कार्यविधि नबनेका कारण भवन अलपत्र बन्दै आएको थियो । आइतबार कृषिमन्त्री प्रकाश श्रेष्ठ र हेटौंडाकी नगर प्रमुख मिनाकुमारी लामाले संयुक्त रुपमा भवनको उद्घाटन गरेका थिए । मन्त्री श्रेष्ठले नगर प्रमुख लामालाई साँचो प्रदान गर्दै भवन हस्तान्तरण पनि गरेका थिए ।
प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाबीच यसअघि नै थोक बजार निर्माणको सम्झौता भएर सञ्चालनको जिम्मा कार्यालयले लिने सहमति भएको थियो ।
प्रदेश सरकारले ७०/३० को लगानी मोडलअनुसार दुई बिघा ४ धुर क्षेत्रफलमा तीन वर्ष लगाएर थोक बजार निर्माण गर्ने लक्ष्यसहित १४ भदौ २०७७ मा हेटौंडा उपमहानगरपालिकासँग सम्झौता गरेको हो ।
सम्झौताको एक वर्षपछि थोक बजार निर्माण थालिएको थियो । ३८ करोड ८८ लाख ६७ हजार ५८२ रुपैयाँ लागत अनुमान (५ तल्लाको डिपिआर) रहेको भवन ३२ करोड १० लाख ५० हजार ७ सय १५ लागतमा बेसमेन्ट सहित ३ तल्लाको निर्माण भएको कृषि विकास निर्देशनालयले जानकारी दिएको छ ।
थोकबजार निर्माणका लागि अनक/माउन्टेन जेभी काठमाडौंले ठेक्का पाएको थियो । ९ जेठ २०७८ मा काम सुरु गरेको कम्पनीले जेठ २०८१ भित्र सम्पन्न गर्नुपर्ने सम्झौता थियो । ७ महिना म्याद थप भएर काम गरिएको थियो ।
थोक बजार निर्माणका लागि हेटौंडा उपमहानगरले तत्कालीन समयमा थानाभर्याङस्थित राप्ति पुल नजिकैको जग्गामा रहेका ५८ वटा घर/टहरा हटाएको थियो । जग्गा खाली गरेपछि १८ असार २०७८ मा शिलान्यास गरिएको थियो ।
