कैलाली : भेटेको १५ दिनमै प्रेम सम्बन्ध अर्कोसँग कुरा गरेको भन्दै हत्या
कैलाली । बर्दगोरिया गाउँपालिका–३ की १७ वर्षीया याचना सेजुवाल १५ दिनअघि बौनिया बजारमा रहेको राजधानी सेकुवा एण्ड म:म सेन्टरमा काममा लागेकी थिइन् । उनी त्यहाँ वेटरका रुपमा काम गर्थिन् ।
सोही सेकुवा एण्ड म:म सेन्टरमा कुकको काम गर्दै आएका थिए, बर्दगोरिया–१ का ३३ वर्षीय निरज साउद । काम गर्ने क्रममा उनी निरजसँग नजिक भएकी थिइन् । दुई सन्तानका बुवा समेत रहेका निरजको श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको थियो ।
भेट भएको १५ दिनमै प्रेम सम्बन्धमा बाँधिएका सेजुवाल र साउद शनिबार पनि सदा जस्तै राजधानी सेकुवा एण्ड म:मको भान्छाकोठामा काम गर्दै थिए । काम गर्ने क्रममा उनीहरुबीच विवाद भयो । विवादकै बीच साउदले याचना सेजुवालको घाँटीमा नजिकै रहेको चक्कुले प्रहार गरिदिए ।
साउदलाई इलाका प्रहरी कार्यालय सुखडको हिरासतमा राखिएको छ भने मृतक सेजुवालको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
