प्रहरी ऐन संशोधन : स्वास्नी शब्द हटाइयो, क्षेत्रीय अदालतको ठाउँमा प्रदेश
काठमाडौं । प्रहरी ऐन २०१२ संशोधन गरिएको छ । नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार प्रहरी ऐन २०१२ को दफा १५ को (ट) लाई संशोधन गरिएको छ ।
(ट) मा सर्वसाधारण जनतासँग शिष्ट व्यवहार गर्ने र स्वास्नी मानिस र केटाकेटीहरूसँग व्यवहार गर्दा पूरा इज्जत र मनासिब नम्रतासाथ व्यवहार गर्ने’ उल्लेख थियो । तर अहिले संशोधन गरेर ‘सेवाग्राही लगायत सबैसँग शिष्ट र मर्यादित व्यवहार गर्ने’ बनाइएको छ ।
यसअघि स्वास्नी मानिस उल्लेख गरिएकोमा आलोचना र गुनासो समेत हुँदै आएको थियो ।
त्यसैगरी ऐनको दफा ३६ को उपदफा (१) को खण्ड (ख) पनि संशोधन गरिएको छ । खण्ड (ख) मा रहेको क्षेत्रीय भन्ने शब्दको सट्टा प्रदेश भन्ने शब्द राखिएको छ ।
खण्ड (ख) मा ‘जिल्ला प्रहरी विशेष अदालत, क्षेत्रीय प्रहरी विशेष अदालत र प्रहरी विशेष अदालतको गठन आवश्यकता अनुसार नेपाल सरकार गृह मन्त्रालयले गर्नेछ र प्रत्येक अदालतमा न्याय सेवा अधिकृतको अध्यक्षतामा एक जना प्रहरी अधिकृतसहित तीन जना सदस्यहरु रहनेछन् र कारबाही पर्ने व्यक्ति प्रहरी अधिकृत भएमा निजभन्दा तल्लो श्रेणीको अधिकृत विशेष अदालतमा रहेन छैन’ भन्ने उल्लेख थियो । यही बुदाँको क्षेत्रीय भन्ने शब्दको ठाउँमा प्रदेश राखिएको हो ।
