शनिबार ०५ पुस, २०८२

कुलिङ पिरियडमा गडबडी : संसदीय छानबिन समितिको म्याद आज सकिंदै

कुलिङ पिरियडमा गडबडी : संसदीय छानबिन समितिको म्याद आज सकिंदै

काठमाडौं । संघीय निजामती सेवा विधेयकको पतिवेदनमा भएको कुलिङ पिरियड गडबडीबारे छानबिन विशेष समितिको म्याद आज सकिंदैछ ।

गत असार २३ गते प्रतिनिधि सभाले निजामती सेवा विधेयकमा व्यवस्था भएको कुलिङ पिरियडबारे हेरफेरका सन्दर्भलाई लिएर संसदीय छानबिन समिति गठन गरेको थियो ।

गत २३ असारमा गठित समितिलाई सुरुमा २१ दिनको समय दिइएको थियो । पछि एक साता थपिएको म्याद आज सकिँदैछ ।

आज काम गरेर छानबिन समितिले भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा समितिको प्रतिवेदन पेश गर्ने तयारी गरेको छ ।

समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई-दुई जना सदस्य र माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक-एक जना रहेका छन् ।

समितिमा कांग्रेसका सांसदहरू जीवन परियार र सुशीला थिङ सदस्य छन् भने नेकपा (एमाले) बाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् । माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।