शनिबार ०५ पुस, २०८२

जनताले सुशासनको अनुभूति गर्न सकेनन् : शेखर कोइराला

जनताले सुशासनको अनुभूति गर्न सकेनन् : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी नहुँदा जनताले सुशासनको अनुभूति गर्न नसकेको बताएका छन् ।

आइतबार विराटनगरमा गुराँस पुस्तकालयले आयोजना गरेको मुक्तिप्रसाद यदुनाथ चापागाईँ सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा.कोइरालाले ठुला दुई दल मिलेर बनेको सरकार पनि जनताप्रति पारदर्शी, जवाफदेही र उत्तरदायी हुन नसकेको र यसका कारण सुशासनको अनुभूति हुन नसकेको बताएका हुन् ।

उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ठिकसँग नचलेका कारण लोकतन्त्र नै खतरामा रहेको धारणा राखे । कोइरालाले लोकतन्त्रको रक्षाका लागि भए पनि पुनः आन्दोलन गर्नुपर्ने अवस्था आउन लागेको उल्लेख गरे ।

मुलुकको निर्वाचन प्रणालीका कारण पनि मिलीजुली सरकार बनाउनुपर्ने बाध्यता रहेको भन्दै उनले मिलीजुली सरकार बनाउनै पर्ने बाध्यताकाबिच पार्टीको सिद्धान्त र व्यवहारलाई छोड्न नहुनेमा जोड दिए । 

कार्यक्रममा राजनीतितर्फ तर्फहरि सापकोटालाई २१ हजार नगदसहित सम्मान गरिएको थियो भने सामाजिक तर्फ अलिम अन्सारीलाई ११ हजार नगदसहित सम्मानित गरिएको थियो ।

यसैगरी प्रतिभा तर्फ डा.प्रमिला गच्छेदारलाई नेता डा.कोइरालाले सम्मान पत्र प्रदान गरेका थिए ।