शनिबार ०५ पुस, २०८२

विदेशमा ज्यान गुमाएका १४०१ नेपालीको शव ल्याइयो नेपाल

विदेशमा ज्यान गुमाएका १४०१ नेपालीको शव ल्याइयो नेपाल

काठमाडौं । पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीमा ज्यान गुमाएका एक हजार ४०१ जनाको शव परिवारलाई बुझाइएको नेपाल प्रहरीले जनाएको छ ।

गत आर्थिक वर्ष २०८१/०८२ मा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपालीहरूको शव सम्बन्धित परिवारलाई बुझाइएको जनाएको हो ।

प्रहरीको तथ्यांक अनुसार सबैभन्दा बढी मृत्यु हुनेमा २६ देखि ३० वर्ष उमेर समूहका युवाहरू रहेका छन् । यस उमेर समूहका २३३ जनाको शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ ।

त्यस्तै २० वर्षभन्दा कम उमेरका २९ जना, २१ देखि २५ वर्षका १७२ जना, ३१ देखि ३५ वर्षका २२६ जना, र ३६ देखि ४० वर्षका २२५ जनाको शव नेपाल ल्याइएको छ ।

४१ देखि ४५ वर्षका २१५ जना, ४६ देखि ५० वर्षका ११७ जना, र ५१ देखि ५५ वर्षका ७१ जना रहेका छन् ।

त्यसैगरी ५६ देखि ६० वर्षका २४ जना, ६१ देखि ६५ वर्षका १२ जना, ६६ देखि ७० वर्षका १२ जना र ७० वर्षभन्दा माथिको उमेर समूहका ६५ जनाको शव नेपाल ल्याएर परिवारलाई हस्तान्तरण गरिएको हो ।

तथ्यांक अनुसार देशको सबैभन्दा उत्पादनशील र सक्रिय युवा जनशक्तिले विदेशमा ज्यान गुमाइरहेको छ ।

यो अवधिमा वैदेशिक रोजगार विभागले ४८१ जनाको शव झिकाएको थियो भने एक हजार ८६ शव घरसम्म पुर्‍याएको थियो ।

विभागले एक वर्षको अवधिमा एक हजार ५१७ जना मृतक कामदारका परिवारलाई एक अर्ब २ करोड ३४ लाख रूपैयाँ आर्थिक सहायता प्रदान गरेको जनाएको छ ।

वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका मृतकका परिवारलाई सरकारले १० लाख रूपैयाँ राहत दिँदै आएको छ ।