आइतबार ०६ पुस, २०८२

सवारी एक्स्पो : दुई खेमा, दुई शो तर ‘सहकार्य’

सवारी एक्स्पो : दुई खेमा, दुई शो तर ‘सहकार्य’

काठमाडौं । नाडाका अध्यक्ष करण चौधरी र नाइमाका अध्यक्ष रितुसिंह वैद्यले संयुक्त सहकार्य र सहअस्तित्वमा रहने समझदारी गरे पनि अटो शोमा ठूला व्यावसायिक घराना बाँडिने भएका छन् ।

अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र हालै दर्ता भएको सोही क्षेत्रको संस्था नेपाल अटोमोबाइल्स इम्पोर्ट्स एन्ड म्यानुफ्राक्चर्स एसोसिएसन (नाइमा)बीच अटोमोबाइलका क्षेत्रमा आपसी समन्वय र सहकार्य गर्ने समझदारी गत चैतमा भएको थियो ।

तर, अहिले एक्स्पोमार्फत दुई संस्था प्रतिस्पर्धीका रूपमा देखिन थालेका छन् । आगामी २१ साउन बुधबारदेखि नाइमा नेपाल मोबिलिटी एक्स्पो र ३ भदौ मंगलबारदेखि नाडा अटो शो हुने भएपछि दुवै संस्थाबीच प्रचारको प्रतिस्पर्धा हुन थालेको छ । नाइमा नाडाको भन्दा राम्रो एक्स्पो बनाउने र नाडा नाइमाको भन्दा राम्रो शो बनाउने अभियानमा लागिपरेको छ ।

नाडामा आबद्ध व्यवसायी नै मिलेर नाइमा गठन गरेदेखि नै अटोमोबाइल व्यवसायीमा फुट आएको प्रचार हुन थालेको थियो । तर, गत २३ चैतमा दुवै संस्थाका अध्यक्षबीच सहअस्तित्वमा अटोमोबाइल क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको थियो ।

पाँच दशक लामो एकता र प्रतिष्ठाको धरोहर बनेको नाडा (नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन) छुट्टै ढंगले अगाडि बढेको छ भने नाडाबाट अलग बनेको नयाँ संस्था नाइमा (नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन) पहिलो प्रदर्शनी अर्थात् ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ मार्फत आफ्नो अस्तित्व स्थापित गर्न लागिपरेको छ ।

नाइमाले २१ देखि २५ साउनमा ‘नेपाल मोबिलिटी एक्स्पो’ आयोजना गर्ने घोषणा गरिसकेको छ । नाडाले ३ देखि ८ भदौसम्म आफ्नो १७औं संस्करण ‘नाडा अटो शो २०२५’ तय गरिसकेको छ ।

व्यापक प्रतिस्पर्धामा उत्रे पनि दुवै संस्थाको आयोजनास्थल भने भृकुटीमण्डप नै तय गरिएको छ । नाइमामा बीवाईडी, सिट्रोन, ग्रेटवाल, हुन्डाई, टाटा, निसान, टोयोटा, प्रोटोन, रेनो, जीकर, मित्सुबिशी, एमजीजस्ता चारपांगे्र सवारीसाधनले सहभागिता जनाउने पक्कापक्की भइसकेको छ ।

नाडामा भने टाटा, सुजुकी, बीवाईडी, सिप्रदी समूहका नामी, दिपल, सेरेस, फोटोन, विदेशी ब्रान्ड टेस्ला, एलएस अटो, जिङपेङ, ब्रेम्ब्री आदि १८ ब्रान्डको सहभागिता रहने भएको छ ।

नाइमामा होन्डा, यामाहा, रोयल इनफिल्ड, बजाज, केटीएम, बेनेली, ईथर, गोगोरो, एनआईयू, सेगवे–नाइनबोट, ट्रायम्फ, एथरलगायतका दुईपांग्रे सवारीसाधन प्रदर्शनीमा हुने भएको छ । उता, नाडामा भने हिरो, यामाहा, रोयल इनफिल्ड, जोन्सनको सहभागिता हुने भएको छ ।

नाइमामा डोङफङ, चेरी वाङ्दा, कामा, किङलङ, सनलङलगायत गरी ५० ब्रान्डको सहभागिता हुने र स्टल बुकिङमा २५ प्रतिशत छुट हुने घोषणा गरिसकेको छ । नाडामा न्यू गोन्वो, डीएफएसके, डोङफङ, सोकोन, सीजी–केवाईसी, मन्त्र, स्काइवर्थलगायतको सहभागिता हुने भएको छ ।

नाइमाले विदेशी ब्रान्डलाई महत्व दिइरहँदा नाडाले भने सिप्रदी र यात्रीले निर्माण गरेको कार स्कुटरको प्रोटोटाइप भए पनि यसपटकको अटो शोमा प्रदर्शन गरी मेड इन नेपाल अभियानलाई सघाउने तवरले अगाडि बढेको छ ।

२१ साउनदेखि हुने ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ र त्यसपछि ३ देखि ८ भदौसम्म हुने ‘नाडा अटो शो’बीच दुई साताको अन्तरालमा हुने विभाजन मात्र नभई बजारको नयाँ प्रतिस्पर्धात्मक अवस्था हो । जहाँ कुनै पक्षले नयाँ अवसरको बाटो देखेको छ भने अर्कोले पुरानो परिचय, इतिहास र विश्वासको आधारमै टेकेर अघि बढ्ने प्रयासमा छ ।

अध्यक्षद्वय भन्छन् : फुटेका होइनौं

नाडाका अध्यक्ष करण चौधरीले सवारी उत्पादन तथा आयातका क्षेत्रमा क्षेत्रगत लक्षित काम गर्नेगरी नाडाकै सदस्य मिलेर संस्था दर्ता गरेको र संस्था नफुटेको बताउँछन् । सवारी आयात तथा उत्पादन क्षेत्रमा निजी क्षेत्रको बलियो उपस्थितिका लागि नाइमा आएको उनको भनाइ छ ।

नाइमाकी अध्यक्ष रितुसिंह वैद्यले सवारीसाधन आयात तथा उत्पादन क्षेत्रमा विशिष्टीकृत संस्थाका रूपमा नाडासँगै रहेर काम गर्ने बताउँछिन् । ‘नाडा’ र ‘नाइमा’ दुवै अटोमोबाइल क्षेत्रको समग्र विकासमा प्रतिबद्ध भएको उनको भनाइ छ ।

साझा लक्ष्य: नीति, नवप्रवर्तन र दिगो विकास (बक्स)

नाडा र नाइमाले अटो शो छुट्टाछुट्टै रूपमा गर्ने भए पनि दुवै संस्थाको लक्ष्य एउटै भएको भन्दै विभाजनको छनक दिएका छैनन् ।

नेपालको अटोमोबाइल क्षेत्रको दिगो विकास, नवप्रवर्तन र नीति स्थिरताका लागि सहकार्य गर्ने प्रतिबद्धता दुवै संस्थाले दोहो¥याएका छन् । दुवै संस्थाको दृष्टिकोण एक अर्कासँग प्रतिस्पर्धामा होइन, सहअस्तित्वमा अघि बढ्ने दाबी गरिएको छ ।

जसले रोज्दैछन् दुवै शो

बीवाईडी, रोयल इनफिल्ड, डोङफङ, कामालगायत दुवै शोमा सहभागी हुने पक्कापक्की छ । नाडाको नेतृत्व परिवर्तनमा विवाद हुँदा गोल्छा र चौधरी समूहबीचको रस्साकस्सीले नाडाबाट टुक्रिएर ‘नाइमा’ जन्मिएको थियो । यसले अटो उद्योगमा लामो समयसम्म कायम एकतामाथि ठूलो धक्का दिएको हो ।

दुई छुट्टा–छुट्टै शो हुँदा उपभोक्तालाई विस्तृत विकल्प र थप आकर्षण प्राप्त हुने भएको छ ।

दुई शो, दुई खेमा

नाइमा मोबिलिटी एक्स्पोमा शारदा ग्रुप, गोल्छा अर्गनाइजेसन, लक्ष्मी ग्रुप, वैद्य ग्रुप, विशाल ग्रुप, अग्नि ग्रुप देखिएका छन् । जसमा टोयोटा, मित्सुबिसी, माज्दा, निसान, हुन्डाई, एमजी, रेनो, फक्सवागन देखिनेछन् ।

नाडा अटो शोमा सीजी ग्रुप, एमएडब्लू, टाटा, सिप्रदी ट्रेडिङ देखिएका छन् । उनीहरूले टाटा, सुजुकी, टेस्ला, बीवाईडी प्रदर्शनमा राख्नेछन् ।

–राजधानी दैनिकबाट