जनमत पार्टी संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा अनुपस्थित
वीरगन्ज । डा. सीके राउत नेतृत्वको जनमत पार्टी उपेन्द्र यादवको जनता समाजवादी नेपाल ९जसपा० ले सोमबार बोलाएको संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा सहभागी नहुने भएको छ।
जनमत पार्टीका नेताहरूले जसपा नेपालको व्यवहार र रुपन्देही९३ को उपनिर्वाचन लगायतका कारणले बैठकमा संलग्न नहुने अवस्था आएको बताएका छन्।
जनमत पार्टीका प्रवक्ता डा। शरदसिंह यादवले मोर्चाप्रति आफ्ना केही चासोका विषय रहेको बताए। उनले भने, ‘ती मुद्दाबारे पार्टीभित्र पनि छलफल गरेर कसरी अघि बढ्ने भन्ने कुरा हुन्छ। मोर्चाको आजको बैठकमा जनमत सहभागी हुँदैन।’ यसले मधेसकेन्द्रित दलहरूबीचको आन्तरिक खटपट सतहमा आएको संकेत गरेको छ।
मधेश केन्द्रित सात दलको मोर्चाले आलोपालो बैठक आह्वान गर्दै आएका छन्। आजको बैठक जसपा नेपालले सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा अपराह्न ४ बजेका लागि बोलाएको थियो। छलफलका एजेन्डामा मोर्चाको निर्धारित कार्यक्रम, कुमार लिङ्देन तथा केपी पालुङ्वाको पार्टीहरूसँग मोर्चाको सहकार्य र विविध विषय राखिएको थियो।
गत चैतमा गठन भएको संघीय लोकतान्त्रिक मोर्चामा जनमत पार्टीबाहेक, जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी सहभागी छन्।
