शनिबार ०५ पुस, २०८२

ओलीको अडान : विद्या भण्डारीसँग कुनै सम्झौता हुँदैन

ओलीको अडान : विद्या भण्डारीसँग कुनै सम्झौता हुँदैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग अब कुनै पनि सम्झौता नहुने बताएका छन् ।

कर्णालीका केन्द्रीय सदस्यहरुलाई शनिबार राति बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले पार्टीभित्र उत्पन्न समस्याबारे लामै ब्रिफिङ पश्चात् निर्देशन दिएका थिए । ‘तीन घण्टा जति छलफल भयो, पहिले नेताहरुबाट ब्रिफिङ लिएपछि अध्यक्ष कमरेडले दुई घण्टा लामो कुरा राख्नुभएको थियो’, त्यो छलफलमा सहभागी एक नेता भन्छन् ।

कर्णालीबाट केन्द्रीय कमिटीमा रहेका २७ मध्ये २२ नेता सहभागी बालुवाटारमा भएको छलफलमा ओलीले आफ्नो कुरा झापा विद्रोहका सन्दर्भबाट थालेका थिए । ‘विद्रोहकालीन कुराहरु भन्न आधा घण्टा खर्चनुभयो, त्यसपछि पूर्वराष्ट्रपतिबारे भएका कुराहरु सुनाउनुभयो’, स्रोतले भन्यो ।

भण्डारीलाई आफूले नै राष्ट्रपति बनाएको पृष्ठभूमि सम्झँदै ओलीले त्यसैबेला फेरि राजनीतिमा फर्कन नमिल्ने परिस्थिति जानकारीमा रहेको बताएका थिए ।

‘माधव नेपाललाई प्रस्ताव राखेँ । तर फर्केर फेरि राजनीतिमा आउन पाइँदैन भन्दै उहाँले मान्नुभएन’, प्रधानमन्त्री ओलीले यो कुरा माधव नेपालसँग समेत बुझ्न सकिने बताएका थिए । झलनाथ खनालले पनि माधव नेपालकै जस्तो जवाफ दिएको उनले बताए ।

सक्रिय राजनीतिमा फर्कन नपाइने भनेरै माधव र झलनाथले राष्ट्रपति हुन नमानेको ओलीले बताए । ‘अब माधव नेपाल र झलनाथ खनालले बुझेको कुरा विद्याजीले नबुझ्ने भन्ने त हुँदैन’, ओलीले भने, ‘माधव भन्दा १० वर्ष कान्छो विद्याजीले बुझेरै जानुभयो ।’

सक्रिय राजनीतिमा फर्कन नपाइने भएकैले विद्या भण्डारीलाई दोस्रोपटक पनि राष्ट्रपति बनाउन आफूले जोड गरेको ओलीले बताएका थिए ।