देशमा सकारात्मक काम भएका छन्, केही भएन भन्नु गलत : भौतिकमन्त्री दाहाल
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले देशमा सकारात्मक काम भइरहेको भन्दै केही भएन भनेर भन्नु गलत रहेको बताएका छन् ।
सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले आइतबार ललितपुरमा आयोजना गरेको अक्षलोक साहित्यिक पत्रिका लोकार्पण तथा सम्मान कार्यक्रममा उनले भने, ‘यो देशमा केही भएन, केही हुँदैन, सबै बिग्रियो भनेर नकारात्मक सन्देश फैल्याउन खोजिरहेको पाइन्छ, तर चार वटा पूर्वपश्चिम राजमार्ग बनिरहेका छन्, सडक तथा यातायात सञ्चालन आधुनिक सुरुङ युगतर्फ पुगेको छ, उत्तर दक्षिण करिडोर धमाधम बनिरहेका छन् । यस्ता सकारात्मक कुरा हुँदाहुँदै देशमा केही भएन र हुँदैन भन्नु गलत हो । ’
उनले समाजलाई नराकात्मक चिन्तनबाट मुक्त बनाउनु पर्ने बताए । सडक तथा पूर्वाधार विकासले ग्रामीण उपज बजारसम्म लैजान, बजारका उत्पादन गाउँसम्म पुर्याउन, ग्रामीण क्षेत्रमा नै उद्यमशीलता विकास गर्न सहज भएको उनले बताए ।
मन्त्री दाहालले प्राप्त विकास र अवसरलाई आर्थिक उपार्जनसँग जोड्न आवश्यक रहेको पनि बताए ।
लेखन, साहित्य, सिर्जनाजस्ता विषयले समाजलाई सकारात्मक दिशा दिन सक्ने भएकाले विचार र सिर्जना मार्फत समेत सकारात्मक धारणा विस्तार गर्न सकिने उनले बताए ।
कार्यक्रममा डा. भगवान कोइराला सहित विभिन्न विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
